काठमाडौँ। साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८.३० अंकले घटेर २६५३.४० विन्दुमा बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनको लगातार वृद्धिपछि बजारमा सामान्य गिरावट देखिए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको हो।
यस दिन ३४५ कम्पनीका ८५ लाख ८४ हजार ४०१ कित्ता सेयर ४६ हजार २३४ पटकको कारोबारमार्फत कुल ४ अर्ब ४१ करोड २३ लाख ४० हजार ५३७ रुपैयाँ बराबरमा किनबेच भएका छन्। अघिल्लो कारोबार दिन ४ अर्ब ११ करोड रुपैयाँको कारोबार भएको थियो।
कारोबारमा सहभागी कम्पनीमध्ये १०३ कम्पनीको सेयर मूल्य बढेको, १६० कम्पनीको घटेको तथा १४ कम्पनीको मूल्य स्थिर रहेको छ।
समूहगत प्रदर्शनतर्फ वित्त, जलविद्युत्, माइक्रोफाइनान्स, व्यापार तथा विकास बैंक समूह सकारात्मक रहँदा बाँकी अधिकांश समूहका परिसूचक ओरालो लागेका छन्। तीमध्ये वित्त समूहको परिसूचक सर्वाधिक १.०६ प्रतिशतले वृद्धि भएको छ।
व्यक्तिगत कम्पनीतर्फ सानिगाड हाइड्रो, स्नो रिभर्स हाइड्रोपावर र कालंगा हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। नेपाल फाइनान्सको सेयर मूल्य पनि करिब १४.९२ प्रतिशतले बढेको छ।
यता, अप्पर लोहोरे खोला हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १३.६५ प्रतिशतले घट्दा धौलागिरी लघुवित्तको मूल्य ११.२१ प्रतिशतले ओरालो लागेको छ।
कारोबार रकमका आधारमा ४ प्रतिशत एग्रिकल्चर बण्ड सबैभन्दा धेरै कारोबार हुने धितोपत्र बनेको छ, जसमा करिब ४३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। दोस्रो स्थानमा ११ प्रतिशत केबीएल डिबेन्चर २०८९ रह्यो, जसको करिब ३९ करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।