
काठमाडौं । नेपाल वायुसेवा निगमले अष्ट्रेलियाको सिड्नी विमानस्थलमा उडानको समय (स्लट) पाएको छ ।
सिड्नी विमानस्थलले निगमलाई सातामा २ उडानका लागि अनुमति र स्लट दिएको हो । विमानस्थलले बिहीबार र शनिबारका लागि स्लट दिएको निगमले बताएको छ ।
विमानस्थलबाट उडानका लागि अनुमति पाएसँगै निगमले अष्ट्रेलियन नागरिक उड्डयनसँग उडानका लागि अनुमति माग्दै सबै विवरण बुझाएको छ । निगमले काठमाडौंबाट सिंगापुरमा ट्रान्जिट गर्दै अष्ट्रेलियाको सिड्नी उडान गर्न लागेको हो ।
यसका लागि निगमले हाल जिएसए (जनरल सेल्स एजेन्ट) छनोट लगायत प्रक्रिया अगाडी बढाएको छ । यसका साथै जहाजमा सवार गर्न यात्रुलाई खाजा–नास्ताका लागि समेत क्याटरिङ कम्पनी छनोट प्रक्रिया समेत अगाडी बढाएको निगमले बताएको छ ।
त्यस्तै, निगमले सिंगापुर र सिड्नीमा इन्धनका लागि पनि कम्पनी छनोटको काम गरिरहेको छ ।
सिंगापुर र सिड्नी विमानस्थलको लागि एमआरओ (मेन्टेनन्स, मर्मत र अपरेशन)
समेत छनोट गरिसकेको छ । निगमले वाइडबडीबाट अष्ट्रेलियाको सिड्नी उडानको तयारी गरेको हो ।