सुनकाे जलहरीमा नमिलेकाे हिसाब-किताब, महालेखाले दुई वर्षअघि उठाएकाे प्रश्न

काठमाडाैं । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले केहीदिन अघि संसदमा पशुपतिनाथमा जलहरीमा सुन भनी पित्तल राखेर भ्रष्टाचार गरेको विषयमा छानबिन हुनुपर्ने माग गरेका थिए ।

शुक्रबार बसेको संसद बैठकमा एमालेले सत्तापक्षका सांसदबाट गम्भीर आरोप लगाइएको भन्दै यसबारेमा सत्तापक्षको धारणा नआई संसद बैठक चल्न नदिने अडान लिएपछि स्थगित भएकाे भएकाे बैठक अहिलेसम्म सुरु हुन सकेकाे छैन ।

सभामुख देवराज घिमिरेले एमाले सांसदलाई बसेर छलफल प्रक्रियामा भाग लिन आग्रह गरे, तर एमाले सांसदहरुले बसेनन् उनीहरु संसद बेल अगाडि नाराबाजीमा उत्रिए ।

२०७७ फागुन १२ गते प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पशुपतिनाथमा ९६ किलोको जलहरी राखेका थियो ।

१०८ केजी सुनको जलहरी बनाउने निर्णय अनुसार काम भएको थियो । बाँकी १२ किलो सुन पछि थप्ने घोषणा गरियो । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले जलहरी अनावरण गरेकी थिइन् ।

महालेखापरीक्षकको ५९औं वार्षिक प्रतिवेदन २०७९ मा ‘पशुपति शिवलिङ्गको गर्भगृहलाई पूर्ण रूपमा ढाक्ने गरी गरी राखिने सुनको जलहरी निर्माण कार्यका लागि नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन ८० करोड ११ हजारमा खरिद गरेको र विभिन्न शुद्धताको प्रतिशत रहेको सुनमा अन्य धातु र रसायनको मिश्रण तामा २ किलो ८९० ग्राम, चाँदी १ किलो २४९ ग्राम, जिंक १२.७५ ग्रामसमेत प्रयोग गरी १०७ किलो ९२४.७५ ग्राम सुन कायम भएको’ उल्लेख छ ।

‘रिङ बनाउन प्रयोग भएको सुनको मूल्य रू. ७ करोड ८६ लाख ४६ हजार रहेको छ । जलहरी बनाएर बाँकी रहेको सो सुनको सम्पूर्ण परिमाण रिङ बनाउने कार्यमा प्रयोग भएको पुष्टि हुने विवरण पेस गरेको छैन,’ महालेखाको प्रतिवेदनमा भनिएको छ ।

यही विषयलाई माओवादी सांसद दाहालले जेठ १० गतेको बैठकमा उठाएका थिए । यही विषयले अहिले संसदमा हंगामा मच्चिरहेकाे छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१