• २०८३ असार १३
  • 2026 June 27, Saturday

भारतमा अभूतपूर्व सम्मान र स्वागत भयाे : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतमा अभूतपूर्व स्वागत पाएको बताएका छन् ।

दिल्लीमा विगतका प्रधानमन्त्रीहरुले जस्तै स्वागत पाएको तर इन्दोर र उज्जैनमा अभूतपूर्व स्वागत पाएको उनले बताएका हुन् ।

साेमबार प्रतिनिधिसभा बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले प्रधानमन्त्रीलाई ‘कार्यालय सहयोगी’ को जस्तो व्यवहार गरिएको बताएका थिए ।

शाहीलाई जवाफ दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतमा आफूलाई स्वागत र सम्मानमा कमी नगरिएको दाबी गरे । उनले आफ्नो स्वागतमा राज्यमन्त्री मात्रै विमानस्थलमा आउनु त्यहाँको सामान्य अभ्यास भएको बताए ।

उनले भने, ‘कतिपय माननीय सदस्यले कस्तो हेपेको नि भारतले भन्नुभयो । मलाई त्यस्तो लाग्दैन । पूर्वप्रधानमन्त्रीहरु धेरैजसो जाँदा राज्यमन्त्री नै आएका छन् एयरपोर्टमा । अझ कतिपय जाँदा त सचिव र सहसचिव आएर पनि लगेका छन्, हेक्का रहोस् । खास खास क्षणमा मात्रै विदेशमन्त्री र प्रधानमन्त्री नै आउने हुँदो रहेछ । नत्र राज्यमन्त्री नै हो । प्रचण्डलाई भएर राज्यमन्त्री पठाएको होइन ।’

उनले भने, ‘दिल्लीमा जुनसुकै प्रधानमन्त्री जस्तै थियो स्वागत, सम्मान र प्रचारप्रसार । इन्दोरमा अलि विशिष्ट थियो । तर इन्दोरमा नेपाली र भारतीय ठूलो संख्यामा जुटेर दुवैतिरका झण्डा हल्लाउँदै, नाच नाच्दै, बाजा बजाउँदै विशिष्ट स्वागत थियो एयरपोर्टमा ।’

उनले इन्दोरबाट उज्जेनसम्म जाँदा अभूतपूर्व बाजागाजा, नाचगान भएकाे पनि बताए । अगाडी उनले भने, ‘हाम्रा नेपाली दिदीबहिनी दाजुभाइ र भारतीय नेताले यस्तो सम्मान र स्वागत त अमेरिकाको राष्ट्रपति आउँदा एकचोटि देखिएको थियो, अहिले नेपाली प्रधानमन्त्री आउँदा देखयो भने ।’

पुरै टिमका सबैजना उत्साहीत भएर आएको पनि जानकारी गराए । उनले भने, ‘धेरै पो राम्रो गरे त भन्ने भावसहित आएका छौँ । अपमानित महसुस गरेनौँ । चिन्ता लिनुपर्ने स्थिति छैन ।’