• २०८३ असार १३
  • 2026 June 27, Saturday

अमेरिका र इरानबीच फेरि तनाव, दुवै देशले लगाए एक–अर्कालाई सम्झौता उल्लंघनको आरोप

काठमाडौं । अमेरिका र इरानबीचको तनाव फेरि चुलिएको छ। पछिल्लो घटनाक्रममा अमेरिकी सेनाले शुक्रबार इरानको मिसाइल–ड्रोन अड्डा र कोस्टल राडार पोइन्टहरूमा आक्रमण गरेको थियो। यो कारबाही होर्मुज स्ट्रेटबाट गुज्रिरहेको एउटा मालवाहक जहाज (कार्गो शिप)माथि भएको ड्रोन आक्रमणपछि गरिएको हो।

अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम)ले यसलाई इरानको युद्धविराम उल्लंघन भन्दै इरानमाथि हमला गरेको हो। अर्कोतर्फ, इरानले भने उक्त कार्गो जहाजले होर्मुज स्ट्रेटको अनधिकृत मार्ग प्रयोग गरेकाले आक्रमण गरिएको दाबी गरेको छ।

अमेरिकी कारबाही राष्ट्रपति डोनल्ड ट्रम्पको त्यस बयानपछि आएको हो, जसमा उनले इरानमाथि युद्धविरामको ‘मूर्खतापूर्ण उल्लंघन’ गरेको आरोप लगाएका थिए।

ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानको ड्रोन हमलाको जवाफ कसरी दिने भन्नेबारे स्पष्ट खुलाएनन् तर चेतावनीसहित भनेका थिए, ‘तपाईंलाई थाहा हुनेछ। उनीहरूले हिजो आक्रमण गरेको मलाई मन परेन। उनीहरूले यस्तो गर्नु हुँदैनथ्यो।’

त्यसपछि शुक्रबार नै अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम)ले इरानको मिसाइल र ड्रोन भण्डारका साथै तटीय राडार ठेगानाहरूमा हमला गरेको जानकारी दियो। सेन्टकमका अनुसार, सिङ्गापुरको झण्डा भएको ‘अवर लभ्ली’ नामक जहाज जुन २५ मा ओमानको तट नजिकै आत्मघाती ड्रोन आक्रमणको शिकार भएको थियो।

अमेरिकी उप–राष्ट्रपति जेडी भेन्सले सेन्टकमको बयान शेयर गर्दै लेखेका छन्, ‘इरानले युद्धविराम सम्झौतामा हस्ताक्षर गरेको छ। हामीले त्यसको पालना गरेका छौँ। यदि उनीहरूलाई यो सम्झौता लागू भएकोमा कुनै आपत्ति छ भने फोन गर्न सक्छन्, तर हिंसाको जवाफ हिंसाले नै दिइनेछ।’

इरानको जवाफ

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) यस हमलाका लागि अमेरिका र इजरायललाई जिम्मेवार ठहर्‍याएको छ। उसले भनेको छ, ‘सम्झौता तोड्ने अमेरिकी शासनले सधैँझैँ आफ्नो वाचा तोडेको छ र विभिन्न बहानामा इरानको तटमा हवाई हमला गरेको छ।’

इरानी संसदको राष्ट्रिय सुरक्षा समितिका प्रमुख इब्राहिम अजीजीले अमेरिकी हमलाको तीखो आलोचना गर्दै भनेका छन्, असफल अमेरिकी राष्ट्रपतिले आफूलाई वार्ता वा युद्धविरामको नियमको कुनै प्रवाह नभएको पुष्टि गरेका छन्।

आईआरजीसीले इरानी तटहरूमा अमेरिकी आक्रमणको जवाफमा आफ्नो नौसेनाले अमेरिकी सैन्य ठेगानाहरूलाई निशाना बनाएको घोषणा गरेको छ।

आईआरजीसीको बयानमा भनिएको छ, ‘अमेरिकाले इरानको तटमा हवाई हमला सुरु गरेको थियो। आईआरजीसीले यी आक्रमणहरूलाई युद्धविराम र अमेरिकी प्रतिबद्धताहरूको उल्लंघन भनेको छ र यसको जवाफमा ‘अमेरिकी सैन्य तैनाथीका केन्द्रहरू’ निशाना बनाइएको दाबी गरेको छ।

यद्यपि, निशाना बनाइएका स्थानहरू, हमलाको प्रकार वा सम्भावित क्षतिको बारेमा कुनै विस्तृत विवरण सार्वजनिक गरिएको छैन। आईआरजीसीले चेतावनी दिएको छ, यदि अमेरिकी आक्रमणहरू दोहोरिएमा इरानको प्रतिक्रिया अझ भीषण हुनेछ।

अमेरिका र इरानबीच तनाव कम गर्न र युद्धविरामका लागि १८ जुन २०२६ मा एउटा सम्झौता भएको थियो। यस सम्झौतामा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र इरानका राष्ट्रपति मसूद पेजेश्क्यानले हस्ताक्षर गरेका थिए। यसमा लेबनानसहित सबै मोर्चाहरूमा युद्धविराम गर्ने कुरा समावेश थियो, तर यो सम्झौता १० दिन पनि टिक्न सकेन।