काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जनामात्रै नभएर पक्राउ नपरेका अन्य केही शंकित व्यक्तिहरूलाई पनि अनुसन्धानका लागि प्रहरीलाई आदेश दिन इजलासमा माग गरिएको छ । सह प्रतिवादीले पोल गरेका केही संकितमाथि अनुसन्धान नै नभएको भन्दै उनीहरूमाथि पनि अनुसन्धानका लागि प्रहरीलाई आदेश गर्न इजलाससमक्ष माग गरिएको हो ।
मंगलबार जाहेरवालाका तर्फबाट बहस गर्ने क्रममा अधिवक्ता हरिप्रसाद कँडेलले जुडिसियल नोटिसका लागि भन्दै काठमाडौं जिल्ला अदालतमै चलिरहेको एक मुद्दाको उदाहरण दिँदै मुद्दा दर्ता भइसकेपछि पनि अदालतले पोल गरिएका अन्य व्यक्तिको हकमा समेत अनुसन्धानका लागि आदेश गर्न सक्ने बताए ।
अधिवक्ता कँडेलले सह अभियुक्त रहेका सानु भण्डारी, टेकनाथ रिजाल लगायतले अन्य अभियुक्तहरूको नाम पोलेका भएपनि उनीहरूमाथि अनुसन्धान नै नभएको भन्दै उनीहरूमाथि पनि अनुसन्धानका लागि इजलासले आदेश दिनुपर्ने माग गरे ।