काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज(सोमबार)नेपालभर मनसुनी वायुको प्रभाव कायम रहेको छ ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि सरेर नेपालको तराई भूभागको नजिक आइपुगेकाले देशभरको मौसममा उल्लेख्य बदली देखिएको छ ।
पछिल्लो २४ घण्टाको तथ्यांक अनुसार मकवानपुरको मकवानपुरगढी क्षेत्रमा ११९.४ मिलिमिटर वर्षा मापन गरिएको छ ।
देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेकाले सावधानी अपनाउन विभागले विशेष आग्रह गरेको छ ।
विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका साथै मधेस प्रदेश र तराई क्षेत्रका केही स्थानमा समेत भारी वर्षा हुनसक्ने सम्भावना देखिएको छ ।
वर्षाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्नसक्ने सम्भावना छ ।
भारी वर्षाका कारण कर्रा खोला, साम्री खोला र बकैया खोला लगायतका साना खोलामा आकस्मिक बहाव हुन सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन महाशाखाले सुझाव दिएको छ ।
यसअघि मोरङ लगायत देशका ३५ जिल्लामा बाढीको उच्च जोखिम रहेको भन्दै सम्बन्धित क्षेत्रमा सतर्क रहन सूचना जारी गरिएको छ ।