• २०८३ जेठ २५
  • 2026 June 08, Monday

हिमपहिरोमा बेपत्ता यार्सा संकलक तीन जनाको शव फेला, अन्तिम संस्कार गरियो

मुगु । हिमाली जिल्ला मुगुको पाटनमा हिमपहिरोमा परि बेपत्ता भएका तीन जना यार्सा संकलक ३२ दिन पछि मृत अवस्थामा फेला परेका छन् ।

मुगुको मुगकामारोङ्ग गाँउपालिकाको पाटनमा पाइने यार्सागुम्बा टिप्न पुगेका जुम्ला पातारासी गाउँपालिका वडा नं २ तल्फी गाउँका १५ जना मध्य तारासिंह सार्की, पुन्न सार्की र वीर बोहरा गत बैशाख १२ गते बेपत्ता भएका थिए ।

जिल्ला प्रशासन कार्यालय मुगु तथा पातारासी गाउँपालिकाको समन्वयमा कणाली प्रदेश सरकारले हेलिकप्टर सहित नेपाल प्रहरी,सशस्त्र प्रहरी बल,स्थानीयवासीसहितको टोलीले २ हप्तासम्म निरन्तर खोजी गर्दा पनि बेपत्ताहरू फेला परेका थिएनन् ।

लगातारको हिमपात र पाटन क्षेत्रमा बाक्लो जमेको हिउँका कारण धेरै प्रयास गर्दा पनि सुरक्षाकर्मीहरूले बेपत्ताहरू फेला नपर्दा आशा नै मारिसकेको अवस्था थियो ।

तर २० गते तल्फी गाउँका स्थानीयहरू बेपत्ता आफ्ना आफन्त खोज्न घटनास्थलमा पुगेपछि गत सोमबार बेपत्ता तीन जनाको शव मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक महेश बस्नेतले जानकारी दिए ।

बेपत्ताहरूको शव फेला परेपछि जिल्ला अस्पतालबाट मुगुबाट चिकित्सकसहितको टोली घटनास्थल भन्दा २ घण्टा तल पुगेर पोष्टमार्टम समेत गरि पाटनमै तीनै जनाको आफन्तहरूले दाहसंस्कार गरेको पनि प्रनाउ बस्नेतले बताए ।

हरेक बर्ष मुगु जिल्लाका विभिन्न पाटनमा पाइने बहुमूल्य जडिबुटी यार्सागुम्बा संकलन गर्न जाने २/३ जनाले ज्यान गुमाउने गरेका छन् ।