• २०८३ असार १९
  • 2026 July 03, Friday

तरलता व्यवस्थापनका लागि २५ अर्ब रुपैयाँको एकवर्षे ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको तरलता व्यवस्थापन गर्ने उद्देश्यले आज २५ अर्ब रुपैयाँ बराबरको एकवर्षे ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ग’ निष्कासन गर्ने भएको छ। ऋणपत्रको बोलकबोल (अक्सन) प्रक्रिया आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत सञ्चालन हुनेछ र सोही दिन निष्कासन गरिने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले असार महिनाभित्र तेस्रो पटक यस्तो ऋणपत्र जारी गर्न लागेको हो। यसअघि असार १६ गते ३५ अर्ब रुपैयाँ र असार १७ गते ४५ अर्ब रुपैयाँ बराबरका ऋणपत्र निष्कासन गरिएको थियो।

एक वर्ष अवधिको यस ऋणपत्रको साँवा २०८४ असार १९ गते एकमुष्ट भुक्तानी गरिनेछ भने लगानीकर्ताले ब्याज प्रत्येक छ-छ महिनामा अर्धवार्षिक रूपमा प्राप्त गर्नेछन्।

ऋणपत्रको ब्याजदर पूर्वनिर्धारित नहुने भएकाले बोलकबोल प्रक्रियाबाट तय हुनेछ। सहभागी संस्थाहरूले आफूले चाहेको ब्याजदर प्रस्ताव गर्न सक्नेछन् भने एउटै संस्थाले फरक-फरक ब्याजदरमा बहुब्याजदरसहित पनि बोलपत्र पेश गर्न पाउने व्यवस्था गरिएको छ।

बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। उनीहरूले न्यूनतम ५ करोड रुपैयाँदेखि आवेदन दिन सक्नेछन् भने त्यसपछि ५ करोड रुपैयाँको गुणकमा कुल आह्वान गरिएको रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

राष्ट्र बैंकका अनुसार बोलकबोलमा प्राप्त ब्याजदरहरूलाई कमदेखि बढी क्रमअनुसार मिलाएर आह्वान गरिएको रकम पूरा हुने बिन्दुसम्म कायम हुने दरलाई ‘एकल कट-अफ ब्याजदर’ निर्धारण गरिनेछ। सोही दर वा त्यसभन्दा कम ब्याजदर प्रस्ताव गर्ने सफल बोलवालाहरूलाई एउटै ब्याजदरमा ऋणपत्र बिक्री गरिनेछ। यदि एउटै ब्याजदरमा आएका आवेदनहरूको कुल रकम निष्कासित रकमभन्दा बढी भएमा समानुपातिक रूपमा बाँडफाँट गरिने व्यवस्था छ।

यस ऋणपत्रलाई नेपाल राष्ट्र बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिनेछ। साथै, स्वीकृत ऋणपत्र लगानी पोर्टफोलियोमा समावेश गर्न मिल्ने भए पनि यसलाई अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइने छैन। भने वैधानिक तरलता अनुपात (एसएलआर) र खुद तरल सम्पत्ति अनुपातको गणनामा भने समावेश गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।