शुक्रबार नेपालमा ५ विदेशी फिल्म रिलिज हुँदै, वितरक र मल्टिप्लेक्सबीच होड

काठमाडौं । घरेलु फिल्मको व्यावसायिक शून्यताबीच शुक्रबार नेपालमा पाँच विदेशी फिल्म रिलिज हुँदैछन् । अहिले चलिरहेको नेपाली फिल्म ‘नीरफूल’ले अपेक्षित हल र शो नपाइरहेको परिस्थितिमा प्रदर्शन तयारीमा रहेका पाँच विदेशी फिल्मले थप दबाब सिर्जना गर्न सक्ने देखिएको छ ।

‘बाहुबली’ फेम्ड प्रभास स्टारर ‘आदिपुरुष’, बेन एफलेक स्टारर हलिउड सुपरहिरो ‘द फल्यास’, हलिउडको ‘एलिमेन्टल’, चर्चित दक्षिण कोरियाली पप ब्याण्ड बीटीएसका स्टार गायक सुगाबारे हलिउड स्टुडियो डिज्नीले निर्माण गरेको ‘सुगा स् रोड टु डी-डे’ र बीटीएस डकुमेन्ट्री ‘जे-होप इन द बक्स’ रिलिज हुनेछन् ।

यी विदेशी फिल्मको रिलिज र वितरणमा तीन नेपाली वितरण कम्पनीबीच होड जस्तो पनि देखिएको छ । जसमा ‘आदिपुरुष’लाई ए-एइट, ‘द फ्ल्यास र एलिमेन्टल’लाई एप्पल इन्टरटेनमेन्ट र ‘सुगा स् रोड टु डी-डे’ र बीटीएस डकुमेन्ट्री ‘जे-होप इन द बक्स’लाई बटरफ्लाइ फिल्म्सले वितरण गर्दैछन् । बटरफ्लाइ फिल्म्स नयाँ वितरण कम्पनी हो ।

मल्टिप्लेक्स चेन क्यूएफएक्सले आदिपुरुष, एलिमेन्टल र द फ्ल्यासलाई मात्र प्रदर्शन गर्नेछ भने ‘सुगा : रोड टु डी-डे’ र बीटीएस डकुमेन्ट्री ‘जे-होप इन द बक्स’लाई क्यूएफएक्स बाहेकका हलले प्रदर्शन गर्ने जनाएका छन् । सोहीअनुसार हलहरुले एड्भान्स बुकिङ पनि थालेका छन् ।

आगामी दिनमा विदेशी फिल्म वितरणमा होड देखिने पक्का छ ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१