‘आदिपुरुष’ विवादपछि टेलिशृंखला ‘रामायण’ पुनः प्रसारण हुँदै

काठमाडौं । भारतीय अभिनेता प्रभास, कृति सेनन र सैफ अली खान अभिनीत फिल्म ‘आदिपुरुष’ असार १ गतेदेखि भारतमा प्रदर्शन भइरहेको छ ।

फिल्म प्रदर्शन भएसँगै निर्मातामाथि धार्मिक भावना चोट पुर्‍याएको आरोप लागेको छ । यसैबीच रामानन्द सागरको टेलिशृंखला ‘रामायण’ पुनः प्रसारण हुने भएको छ ।

सन् १९८७-८८ मा सरकारी टेलिभिजन च्यानल दूरदर्शनमा प्रसारित धारावाहिक ‘रामायण’ दर्शकको माग अनुसार कोरोना महामारीमा सन् २०२० मा पनि प्रसारण गरिएको थियो ।

‘आदिपुरुष’ विवादपछि निर्माताले ‘रामायण’ पुनः प्रसारण गर्ने घोषणा गरेका छन् । अब यो टेलिशृंखला दूरदर्शनमा नभई शेमारू टिभीमा प्रसारण हुनेछ ।

टिभी कार्यक्रमको छोटो क्लिप सेयर गर्दै च्यानलले लेखेको छ, ‘विश्व प्रसिद्ध पौराणिक धारावाहिक रामायण सबै प्रशंसक र हाम्रा दर्शकका लागि फर्किएको छ । ३ जुलाई साँझ ७:३० देखि च्यानल शेमारु टिभीमा हेर्नुहोला ।’

कार्यक्रममा अरूण गोभिल र दीपिका चिखलियाले राम-सीताको भूमिका निर्वाह गरेका छन् भने अरविन्द त्रिवेदीले रावण, सुनिल लाहिरीले लक्ष्मण र दारा सिंहले हनुमानको भूमिका निर्वाह गरेका छन् ।

रामायणमा काम गरेका अरूण, दीपिका र सुनीलले फिल्म ‘आदिपुरुष’ को आलोचना गरेका थिए । अरूण गोभिलले ‘आदिपुरुष’ लाई हलिउडको कार्टुन बताएका थिए ।

ओम राउतले निर्देशन गरेको फिल्म ‘आदिपुरुष’ मा प्रभासलाई रामको भूमिकामा देख्न सकिन्छ भने सैफ अली खानलाई रावणको, कृति सेनले सीताको भूमिका निर्वाह गरेकी छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१