राष्ट्रिय धान दिवसमा किन खाइन्छ दही चिउरा ?

काठमाडौं । ‘जलबायु अनुकूलित कृषक मैत्री प्रविधि, धान उत्पादनमा बृद्धी’ भन्ने मुल नारा सहित आज असार १५ गते २० औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्वस २०८० मनाइँदैछ । ‘मानो रोपेर मुरी फलाउने दिन’ आज किसानहरु भब्यताका साथ देशभर धान दिवस मनाउँदै छन् ।

कृषि प्रधान देश भएकाले नेपालका अधिकांश जनता किसान छन् । आज खेतमा काम गरी दही चिउरा खाएर धान दिवस तथा रोपाई महोत्सव मनाइँदै छ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल देखि हरेक बर्षको असार १५ लाई राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।

आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रुपमा पनि लिइन्छ ।

खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाएर असार १५ मनाउँछन् ।

कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।

दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवर्द्धक मानिन्छ । गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गरेका थिए भनिन्छ ।

आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाइएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ । ‘भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्’ भन्नेजस्ता वाक्य पनि आयुर्वेदमा उल्लेख गरिएको छ । दहीले पाचन शक्ति पनि बढाउँछ ।

पखाला लागेका बेला दही चिउरा खाएमा औषधिको काम गर्छ । यसरी असार १५ गते नेपाली समाजमा दही चिउरा खाने पर्वका साथै राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१