
काठमाडौं । पूर्वमिस नेपाल श्रृंखला खतिवडा वैवाहिक जीवन सुरु गर्ने सुरसारमा छिन् । कान्तिपुर पब्लिकेसनका सम्भव सिरोहियासँगको अफेयरलाई मूर्त रुप दिँदै उनले चाँडै लगनगाँठो कस्न लागेको समाचारहरु मिडियामा आइरहेका छन् ।
आफ्नो विवाह र प्रेमको प्रसंगमा श्रृंखला स्वयं भने पूर्ण रुपमा मौन छिन् । न परिवारजनबाटै कुनै जानकारी दिइएको छ । केही दिनअघि सम्भवका भाइ अनुभवको इंगेजमेन्टमा श्रृंखला सम्भवकी जोडीका रुपमा उपस्थित भएपछि बल्ल उनीहरुको सम्बन्धले आधिकारिता पाएको हो । सिरोहिया परिवारको पारिवारिक तस्विरमा उनी अटाएकी थिइन् ।
श्रृंखला यसअघि लामो समयसम्म भ्लगर सिसन बानियासँग प्रेममा थिइन् । सिसनसँग ब्रेकअपपछि उनी सम्भवसँग नजिकिएकी हुन् । सिसन-श्रृंखलाको प्रेम सामाजिक सञ्जालमा छताछुल्ल थियो । तर, सम्भव-श्रृंखलाको प्रेम गोप्य छ । सामाजिक सञ्जालमा भने श्रृंखलाको विवाहको प्रसंग हटकेक बनिरहेको छ । उनको विवाहलाई लिएर पूर्वप्रेमी सिसन बानियाँ ट्रोलको शिकार भइरहेका छन् । सिसन र श्रृंखलाका पुराना भिडियोहरु टिकटकमा हालेर दुवैलाई जिस्काउने काम भइरहेको छ ।
सम्भवतः यही प्रवृत्तिबाट आजित भएर श्रृंखलाले आज आफ्नो इन्टाग्राममा सामाजिक सञ्जालप्रति आफ्नो दुःखेसो पोखेकी छन् । आफ्नो डेली लाइफको एउटा भिडियो बनाएर पोस्ट गर्दै श्रृंखलाले शब्दहरुमा आफूलाई पोखेकी हुन् ।
श्रृंखलाले भनेकी छन्, ‘मेरो वास्तविक जीवन यति पूर्ण कहिल्यै भएको थिएन । अफसोस्, सामाजिक सञ्जाल भने मेरो जीवन जस्तो भएन । धन्न म कृतज्ञ छु, कम्तीमा म मेरो सामाजिक सञ्जाललाई चाहेको बेलामा लगआउट गर्न सक्छु ।’
श्रृंखलाले आफ्नो विवाहको विषयमा केही पनि लेखेकी छैनन् । तर, उनको भिडियोका एकाध दृश्यमा सम्भव सिरोहिया अटाएका छन् ।