• २०८३ असार १४
  • 2026 June 28, Sunday

ललिता निवास प्रकरणमा थप २ जना पक्राउ

काठमाडौं । ललिता निवास प्रकरणमा थप दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सकुलनन्द महर्जन र सञ्जय महर्जन रहेका छन् ।

उनीहरू नक्कली मोही रहेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का एसएसपी दिनेश आचार्यले जानकारी दिए । उनीहरूलाई ललितपुरको कुपन्डोल क्षेत्रबाट सोमबार दिउँसो पक्राउ गरिएको आचार्यले बताए ।

योसँगै यस प्रकरणमा पक्राउ परेका १९ जना सिआइबीको हिरासतमा छन् ।

यसअघि शुक्रबार सर्वोच्च अदालतले सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई छाड्न आदेश दिएको थियो । अहिले उनलाई हिरासतमा नराखी नै अनुसन्धान भइरहेको हो ।

राउतले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह र धर्मप्रसाद गौतमले पनि उक्त रिट दायर गरेका थिए । तर उनीहरूलाई सर्वोच्चले थुनामुक्त गरेको थिएन ।

प्रहरीले समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे, समरजंग कम्पनीका तत्कालीन प्रमुख रमेशकुमार पोखरेल, नक्कली मोही देवनारायण महर्जन, तत्कालीन नापी अधिकृत ध्रुव अर्याल र गोपाल कार्कीलाई पक्राउ गरेको छ ।

काठमाडौं महानगर वडा नम्बर ५ का तत्कालीन वडा सचिव शिवजी भट्टराई, नक्कली मोही बाबुराजा महर्जन र तत्कालीन नापी कार्यालयमा रहेका घमानकुमार कार्की पनि पक्राउ परेका छन् ।

समरजंग कम्पनीका तत्कालीन सहायक लेखापाल विनोद पौडेल, भौतिक योजना मन्त्रालयका तत्कालीन सिनियर डिभिजन इन्जिनियर बालकृष्ण श्रेष्ठ, भूमि व्यवस्था विभागका तत्कालीन महानिर्देशक रूद्रप्रसाद श्रेष्ठ, तत्कालीन मालपोत कार्यालयका नायब सुब्बा योगराज पौडेल र खरिदार नारायणदास मिश्र प्रहरी हिरासतमा छन् ।

यस्तै प्रहरीले केशव तुलाधरलाई पनि पक्राउ गरेको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका उनलाई काठमाडौं जिल्ला अदालतले धरौटीमा छाडेलगत्तै सिआइबीले ललिता निवास जग्गा प्रकरणमा पक्राउ गरेको हो ।

मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा कलाधर देउजालाई पनि प्रहरीले पक्राउ गरेको हो ।

उनीसहित १७ जनाले आफूहरूलाई पक्राउ नगर्न सर्वोच्च अदालतबाट स्टे अर्डर लिएका थिए । उनलाई सिआइबीले असार १२ गते नै पक्राउ गरेको थियो । तर स्टे अर्डर लिएकाले प्रहरीले उनलाई छाडेको थियो ।

स्टे अर्डरविरूद्ध सिआइबीले भ्याकेट निवेदन दिएको थियो । त्यसपछि सर्वोच्चले आदेश दिएलगत्तै देउजालाई पक्राउ गरेको हो ।

ललिता निवासको १४३ रोपनी जग्गा विभिन्न चरणमा व्यक्तिको नाममा गएको देखिएको छ । सरकारी जग्गा हडपेको पाइएपछि प्रहरीले पुन :अनुसन्धान गरी उनीहरूलाई पक्राउ गरेको हो ।