• २०८३ असार १४
  • 2026 June 28, Sunday

राष्ट्रिय सभा बैठक : गृहमन्त्रीमाथि समेत छानविन गर्न एमाले सांसद दाहालको माग

काठमाडौं । नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्च स्तरीय र विश्वासिलो छानविन समिति बनाउन माग गरेका छन् ।

राष्ट्रिय सभाको बैठकमा विशेष समयको माग गर्दै एमाले सांसद देवेन्द्र दाहालले सुन तस्करी जस्तो घटना गृहमन्त्रीको संलग्नताविना सम्भव नभएको भन्दै उच्च स्तरीय र विश्वासिलो छानविन समिति बनाएर सम्पूर्ण सुरक्षा, भन्सार र गृहमन्त्रीलाई अनुसन्धानको घेरामा ल्याउनु पर्ने बताए ।

उनले भने, ‘यो घटना गृहमन्त्रीको संलग्नता विना सम्भव हुन्छ र ? सम्पूर्ण सुरक्षा र भन्सार अनुसन्धानमा आएको छ । त्यसकारण अब उहाँ पनि अनुसन्धानको घेरामा रहनुपर्छ भन्ने हाम्रो भनाई छ । सुन काण्डको जरैदेखि छानबिन गर्नको लागि उच्च स्तरिय संसदीय छानविन, उच्च स्तरीय छानविन समिति बन्छ र त्यसमा राष्ट्रिय सभालाई पनि सामेल गराउनु पर्छ । ’

उनले उच्च तहका नेतृत्व पनि यस घटनामा सामेल भएको तर उनिहरुलाई अनुसन्धानको दायरामा नल्याएको आरोपसमेत लगाए ।

सुन भित्रिएको दिनमा नै सुरक्षा व्यवस्था गर्न नसकेको भन्दै सदनलाई सम्बोधन गर्दै राजीनामा दिनु पर्ने गृहमन्त्री झन फूर्तिका साथ विमान स्थलमा कसैलाई छोडिदैँन् भनेर मन्तव्य दिएको पनि उनको टिप्पणी छ ।

उनले भने, ‘यो सुन हवाई मार्गबाट नेपाल भित्रिदा थाहा नपाउँनु गृहमन्त्रीको माथि गम्भीर प्रश्न उठेको छ । सिंगो विमानस्थलको सुरक्षा व्यवस्था कस्तो छ, भन्सारको सुरक्षा कस्तो छ, त्यसको जवाफ कस्ले दिने गृहमन्त्री, अर्थमन्त्री, यो सिंगो सरकारले दिनु पर्ने होईन्, आफूले कुनै जवाफ दिन नपर्ने जस्तो गरेर गृहमन्त्री निकै फूर्तिका साथ विमान स्थलमा जानु हुन्छ र कुनै कसैलाई छोडिदैँन् भनेर मन्तव्य दिनु हुन्छ । जुन दिन सुन भित्रिएको थियो त्यो दिन नै भन्सारको सुरक्षा व्यवस्थालाई सस्पेन गर्दै सदनलाई सम्बोधन गर्दै राजीनामा दिनुपर्ने हो । त्यसो भएको छैन ।’

उनले सुन आयात गर्ने काम सेटिङ्बाट भईरहेको भन्दै सुन ल्याउँदा भन्सार प्रमुख र प्रहरी प्रमुख डिआईजी अर्जुन चन्द विदामा बसेर यसको सेटिङ् गरेको जस्तो देखिएको पनि बताए ।