
काठमाडौं । अभिनेत्री पूजा शर्मा फिल्म ‘दान्भी’ मा एक्सन अवतारमा देखिने भएकी छन् ।
उनी लभ स्टोरी फिल्ममा रूचाइएकी अभिनेत्री हुन् । ‘प्रेमगीत, म यस्तो गीत गाउँछु, म यस्तो गीत गाउँछु २, रामकहानी’ जस्ता लभ स्टोरी फिल्ममा देखिएकी उनी पहिलो पटक एक्सन फिल्ममा देखिन लागेकी हुन् ।
यतिबेला काठमाडौंको नैकापमा फिल्मको क्लाइमेक्स छायांकन भइरहेको छ । फिल्ममा श्री श्रेष्ठले एक्सन निर्देशन गरिरहेका छन् ।
फिल्म ‘दान्भी’ को क्लाइमेक्समा सय जना फाइटर प्रयोग गरिएको निर्देशक रूपेश तामाङले बताए । ‘फिल्मको क्लाइमेक्सका लागि हामीले निकै मिहिनेत गरिरहेका छौं,’ उनले भने ।
रूपेश तामाङले निर्देशन गरिरहेको फिल्ममा पूजासँगै अभिनेता कुन्साङ बोमजमको अभिनय छ । यो उनको डेब्यू फिल्म हो ।
अनुप गदाल र देव मगर निर्माता रहेको फिल्ममा पवन राना मगर कार्यकारी निर्माता छन् । कमला लिम्बु र गोकुल सुवेदी फिल्मका सह-निर्माता हुन् ।
यस फिल्मको हालसम्म प्रदर्शन मिति तय गरिएको छैन ।