निसिखाेलामा शिक्षक नियुक्तिकाे ‘घुस’ प्रधानाध्यापक र गाउँपालिका शिक्षा शाखा अधिकृतकाे खातामा

बागलुङ । निसिखाेला गाउँपालिका वडा नं ५ मा रहेकाे ज्ञानेन्द्र माविमा कर्मचारिको नियुक्तिवापतको खर्च भन्दै हरेक कर्मचारीबाट नियुक्ति भएवापत रकम लिने गरेको तथ्य खुलेको छ । उक्त रकम नदिएमा कानुनसम्मत प्रकृया पूरा गरेर नियुक्ति भएका शिक्षकलाई पनि काम गर्न नमिल्ने भन्दै जबरजस्ती पैसा असुल्दै आइएको छ ।

विद्यालयका प्रधानाध्यापक अमृता बुढाले उक्त विद्यालयमा ९,१०,११,१२ कक्षामा पढाइ हुने भेटेनरी प्राविधिक विषयकाे विषय शिक्षककाे निम्ति गाउँपालिकाले खोलेको विज्ञापन अनुसार र सोही प्रकृया पूरा गरेर लिखित र मौखिक परीक्षा पास गरेर गएका शिक्षकहरुलाई त्यसरी रकम लिने गरेकी छिन् । उक्त पैसा माथिसम्म बुझाउनुपर्ने र यो पैसा नतिरेमा यहाँ पढाउन नपाउने र यो यहाँको चलन नै भएको भन्दै भेटेनरी शिक्षकलाई जबर्जस्ती नियमविपरित आफ्नै व्यक्तिगत खातामा रकम हाल्न लगाउने गरेकी छिन् ।

मावि द्वितीय र तृतीय पदमा गत साल २०७९ मंसिर २३ मा नियुक्ति लिएका जगदिश रिजाल र तुलसी पाण्डे र सोही मंसिर २६ गते नियुक्ति लिएका नारायण पौडेललाई उक्त विद्यालयकी प्रधानाध्यापकले यहाँ नियुक्ति लिइसकेपछि सबैले १८ हजार रुपैयाँ बुझाउनेपर्ने अन्यथा पढाउन नपाइने भन्दै रकम मागेपछि उनीहरुले तत्काल आफूसँग नभएकोले मासिक तलब आइसकेपछि दिने भनेका थिए ।

त्यसको एक महिनापछि उक्त प्रधानाध्यापककै प्रभु बैंकमा रहेको व्यक्तिगत खातामा पैसा जम्मा गर्न दबाब दिएपछि उक्त तीन जना प्राविधिक शिक्षकहरुले जनही १८ हजार रुपैयाँ जम्मा गरेका थिए । सो रकमको केही हिस्सा सोही गाउँपालिकाका शिक्षा शाखा अधिकृत जयराम पुनसमक्ष समेत पुगेको थियो । उक्त विद्यालयमा भेटेनरी प्राविधिक मावि द्वितीय र तृतीय तहको लागि ४ वटा कोटा रहेको छ । जसमा हरेक शिक्षकले आफ्नो नियुक्तिको र त्यहाँ अध्यापन गराउनका लागि रकम बुझाउन अनिवार्य गरिएको समेत खुलेको छ । केहीलाई भने आफ्नो पहिलो महिनाको तलब आएपछि दिने शर्तमा नियुक्ति दिएर काममा राख्ने गरिएको छ ।

कानुनत: कुनै पनि नीतिगत निर्णय बिना कुनै पनि सरकारी कार्यालय या कर्मचारीले कसैसँग रकम लिएको छ र त्यो रकम आफ्नो निजी खातामा हाल्न लगाएर त्यो रकम बराबरको कुनै रसिदसमेत रकम लिनुको उद्देश्य स्पष्ट नराखी रकम बुझाउने ब्यक्तिलाई थम्याइँदैन भने त्यसलाई भ्रष्टाचार मानिन्छ । उक्त विद्यालयमा या उक्त विद्यालय हेर्ने निशिखोला गाउँपालिकामा त्यस्तो कुनै पनि प्रकारको नीतिगत निर्णय भने भएको देखिँदैन । न त मौजुदा नेपालको कानुनमा त्यस्तो किसिमको कुनै ब्यवस्था नै गरिएको छ ।

उक्त विषयमा विद्यालयकी प्रअ अमृता बुढालाई हामीले सम्पर्क गरेर बुझ्दा उक्त रकम यसरी नै बुझेकाे स्वीकार गरिन् । उनका अनुसार उक्त पैसा त्यहाँ हुने परीक्षा समितिलाई दिनुपर्छ जहाँ ४ जना सदस्य हुन्छन् उनीहरुलाई अलिअलि बुझाउनुपर्छ र केही पैसा निसिखोला गाउँपालिका शिक्षा शाखा अधिकृतलाई समेत दिने गरेको उनले स्वीकार गरिन् । याे विषयमा भर्खरै उक्त गाउँपालिकाबाट सरुवा भएर गएका शिक्षा अधिकृत जयराम पुनलाई जिज्ञासा राख्दा उनले समेत केही रकम लिएको स्वीकार गरेका छन् । ‘नियमले त यसरी पैसा लिन नहुने हाे तर मलाई प्रधानाध्यापकले ल्याएर दिएपछि ठिकै छ नि त भनेर मैले केही रकम लिएँ’ पुनले भने । उनले कार्यालय समयभन्दा अन्यसमयमा विद्यालयमा गएर पैसा लिएकाे पनि बताए ।

सो विषयमा उक्त गाउँपालिकाका प्रमुख सूर्यबहादुर घर्तिसँग यसबारेमा बुझ्दा उनी भन्छन् ‘आफ्नो यस किसिमको गलत कार्यमा कहीँ कतै संलग्न नभएको र त्यसरी पैसा लिनुपर्ने कुनै पनि नियम हाम्रो गाउँपालिकामा समेत नभएकोले यस विषयमा के भएकाे रहेछ म बुझौँला ।’

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१