
काठमाडाैं । हमास समूहले पहिलो पटक इजरायलबाट बन्धक बनाएर गाजामा राखिएकी एक बन्धक युवतीकाे भिडियो सार्वजनिक गरेको छ ।
अक्टोबर ७ को हमलापछि हमासको यो पहिलो भिडियो हो । हमासले १ सय ९९ जनालाई बन्धक बनाएको इजरायलले जनाएको छ ।
भिडियोमा एक युवतीले आफ्नो नाम माया शेम रहेकाे बताएकी छन् । २१ वर्षकी उनी इजरायलको शोहम शहरकी बासिन्दा हुन् । इजरायलको एउटा पार्टीबाट हमासले आफूलाई बन्धक बनाएको उनले बताएकी छन् ।
उनले भिडियोमा आफ्नाे रिहाइका लागि अपिल गरेकी छन् । भिडियोमा उनकाे हातमा चोट लागेको र उपचार भइरहेको फुटेज पनि समावेश छ ।
इजरायली सेनाले मायालाई हमासले अपहरण गरेको र सेना उनको परिवारसँग सम्पर्कमा रहेको पुष्टि गरेको छ ।
सेनाले विज्ञप्तिमा भनेको छ, ‘यस समयमा हामी सबै बन्धकहरूको फिर्ताको लागि सबै गुप्तचर जानकारी र उपायहरूबारे काम गरिरहेका छौँ ।’