भारत सरकारको सहयोगमा निर्मित हुम्लामा दुई परियोजनाको उद्घाटन

काठमाडाैं । भारत सरकारको आर्थिक सहयोगमा हुम्लामा निर्मित दुईवटा परियोजनाको उद्घाटन भएकाे छ ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र स्थानीय सरकारका प्रतिनिधिले बुधबार ती परियोजनाको संयुक्तरूपमा उद्घाटन गरेका हुन् ।

‘नेपाल-भारत विकास सहकार्य’ कार्यक्रमअन्तर्गत भारत सरकारका साढे ५ करोडको अनुदान सहयोगमा सर्केगाड गाउँपालिकास्थित श्री सरस्वती माध्यमिक विद्यालयका लागि निर्मित भवन र चंखेली गाउँपालिकास्थित श्री महादेव माध्यमिक विद्यालयका लागि ल्याब र पुस्तकालय भवनको उद्घाटन गरिएको हो ।

कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, नेपाल सरकारका पदाधिकारी, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, शिक्षक, अभिभावक, विद्यार्थी र स्थानीय समुदायको उपस्थिति रहेकाे थियाे ।

कार्यक्रममा संविधानसभा सदस्य रीता शाहीले नेपालका दुर्गम क्षेत्रमा भारतीय दूतावासले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गर्दै निरन्तर सहयोगको आवश्यकता रहेको बताइन् ।

चंखेली गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले गाउँपालिकाले आफ्नो स्रोतबाट भवन निर्माण गर्न नसक्ने अवस्थामा दूतावासले सहयोग गरेर ठूलो गुन लगाएको बताए ।

राजदूत श्रीवास्तवलाई स्थानीयले बाजागाजासहित स्वागत गरेका थिए ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१