• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

राष्ट्रपतिको युरोप भ्रमण रद्द गरी त्यसमा लाग्ने खर्च भूकम्प प्रभावित क्षेत्रमा पठाउन रवीन्द्र मिश्रको सुझाव

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण रद्द गरी त्यसबाट बच्ने रकम भूकम्प पीडितको राहत र उद्धारमा खर्च गर्न सुझाव दिएका छन् ।

शुनिबार सामाजिक सञ्जालमार्फत उनले राप्रपाले संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीको नेतृत्वमा स्वयंसेवकहरूको टोलीलाई भूकम्प प्रभावित क्षेत्रमा खटाएको जानकारी दिँदै उनले राष्ट्रपतिको भ्रमणलाई रद्द गरी त्यसबाट बच्ने रकम भूकम्प पीडितको राहत र उद्धारमा खर्च गर्न सुझाव दिएका हुन् ।

उनले लेखेका छन्, ‘भूकम्पका कारण जाजरकोट, रुकुम लगायत पश्चिम नेपालका विभिन्न स्थानमा भएको व्यापक धनजनको क्षतिले मर्माहत बनाएको छ। यो संकटको घडीमा जहाँबाट जसरी सकिन्छ, सबै मिलेर सहयोग गरौँ! राष्ट्रपतिले यो राष्ट्रिय पीडाको घडीमा युरोप भ्रमण रद्द गरेर त्यसबाट बच्ने करोडौँ रकम राहत र उद्धारमा खर्च गर्नु राम्रो हुन्छ। राप्रपाले संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीको नेतृत्वमा स्वयंसेवकहरूको टोली खटाएको छ।’

उनले राप्रपाको महिला संगठनको टोली पनि राहत सामग्री सहित जान लागेको जानकारी दिए ।