• २०८३ जेठ २६
  • 2026 June 09, Tuesday

सडकमा भेटिएका छाडा गाईबाच्छा काञ्जी हाउसमा व्यवस्थापन गर्दै काठमाडौं महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकमा भेटिएका छाडा गाईबाच्छा (चौपाया) काञ्जी हाउसमा व्यवस्थापन गर्ने भएको छ ।

मंगलबार महानगरभित्र छाडिएका चौपायाको कार्तिक २३ गतेदेखि दक्षिणकालीस्थित काञ्जी हाउसमा राख्न व्यवस्थापन गरिएको महानगरपालिकाका कृषि तथा पशुपंक्षी विभागका प्रमुख अवधेश झाले जानकारी दिए ।

उनका अनुसार सडकमा छाडा छाडिएका चौपायाको संरक्षण र व्यवस्थापन पालिकाहरूले गर्नुपर्ने व्यवस्था छ ।

‘सडकमा छाडिएका चौपायाले खान र तिर्खा लागेका बेला पानी पाउँदैनन् । बिरामी पर्दा उपचार पाउँदैनन् । सवारी दुर्घटनाको जोखिम पनि उत्तिकै छ । उनीहरूलाई यी जोखिमबाट बचाउन काञ्जी हाउसमा लैजान लागेका हौं,’ उनले भने, ‘काञ्जी हाउसमा लगिएका चौपायालाई खुवाउन १० मेट्रिक टन साइलेज खरिद समेत गरिसकेका छौं।’

ती चौपायाको हेरचाह गर्न २ जना स्थानीयलाई दैनिक ज्यालादारीमा समेत राखिएको उनले बताए । यस्तै, चौपाया व्यवस्थापनका लागि दक्षिणकाली नगरपालिकाको-७ सँग समेत सहकार्य गरी पानी, बिजुलीलगायत सुविधा प्रबन्ध गर्ने उनको भनाइ छ ।

यस्तै, दक्षिणकाली नगरपालिका-७ का वडाअध्यक्ष हरिप्रसाद तिमल्सेनाका अनुसार यसले दक्षिणकाली नगर क्षेत्रको छाडा चौपाया समेत व्यवस्थापन सहयोग हुने छ । बुधबारबाट महानगरका चारवटै क्षेत्रबाट सडकमा भएका गाईबाच्छा संकलन गरेर टेकु ल्याइने महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।

‘संकलित गाईबाच्छालाई सुविधाजनक ढुवानी व्यवस्था गरेर काञ्जी हाउस पुर्‍याउने छौं,’ उनले भने, ‘संकलन र ढुवानीका क्रममा पशु कल्याणलाई ख्याल गरिने छ।’

यस ठाउँमा काञ्जी हाउस सञ्चालन गर्न २०७८ फागुन ३ गते महानगर र दक्षिणकाली नगरपालिकाबीच सम्झौता भएको थियो ।

काञ्जी हाउस १२६ रोपनीमा संचालन गरिएको छ भने यहाँ महानगरपालिका आफैंले डाले तथा भुइँ घाँस लगाउन सक्नेछ ।