• २०८३ असार १८
  • 2026 July 02, Thursday

आममाफी प्रकरणः रेशम चौधरीको मुद्दामा सर्वोच्चमा आज सुनुवाई

काठमाडौं । गत जेठमा सरकारले माफी दिएको रेशम चौधरीको मुद्दामा सर्वोच्च अदालतले आजबाट सुनुवाई गर्ने भएको छ ।

चौधरीलाई कैद माफी मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनमा यसअघि सर्वोच्चले कारण माग्ने आदेश गरेको थियो। गत जेठ २४ मा न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले सरकारलाई के कारणले माफी दिइएको हो भन्ने जवाफ माग्दै मंगलबार आदेश गरेको थियो ।

रिट निवेदनलाई प्राथमिकतामा राख्दै सर्वोच्च अदालतले अग्राधिकार दिने निर्णय गरे पनि मुद्दाको सुनुवाई हुन सकेको थिएन। उक्त मुद्दाको सुनुवाई सुरु हुनेगरी पेशीमा राखिएको सर्वोच्चले जनाएको छ ।

टिकापुर घटनामा जन्मकैद सजाय पाएर २०७४ सालदेखि जेल सजाय भोगिरहेका चौधरीलाई गणतन्त्र दिवसमा सरकारले आममाफी दिएपछि उनी जेलबाट छुटेका थिए ।

सरकारले दिएको सजाय माफीको निर्णय विरुद्ध घटनामा पीडित परिवारले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन्। टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहोराकी पत्नी शारदा कडायत बोहोरालगायतले रिट निवेदन दर्ता गरेका थिए ।