राजनीतिसँग किन विरक्तिए शशांक

काठमाडौं । तिहारको रमझममा रमाईरहेका नेपालीको ध्यानाकर्षण हुनेगरी नेपाली कांग्रेसका नेता डाक्टर शशांक कोइरालाले राजनीतिप्रतिको आफ्नो कटु अनुभव सार्वजनिक गरेका छन्। उनको अनुभव कुनै काल्पनिक कथन होइन, यथार्थ हो, कटु यथार्थ।

राजनीति अवैध सुन, नक्कली शरणार्थी र वालुवाटारको जग्गा हडप्ने जस्ता निन्दनीय हरकतको संरक्षक बन्दै गएको देखेर पनि हुनसक्छ वीपी पुत्र शशांकलाई राजनीतिसँग विरक्ती चलेको। उनले नरम शैलीमा गम्भीर प्रसंग चलाएर राजनीतिमा सरिक मानिसहरुलाई झक्झक्याएका छन्।

वास्तवमा शशांक कोइराला आफ्नै निर्णयमा अघि बढ्न पाउँथे भने खेलाडी हुनसक्थे। विद्यार्थी जीवनमा उनी राम्रा खेलाडी थिए। तर त्यसो हुन पाएन। उनी चिकित्सा शास्त्रतिर धकेलिए।

दार्जिलिङ्गको नर्थपोइन्ट कलेजका अव्वल दर्जाका विद्यार्थी थिए शशांक। भलिवल, टेवुलटेनिस र क्रिकेटका सौखिन उनी, क्रिकेटमा अलिक जमेका थिए। टिमका राम्रा व्याट्सम्यानमा गनिन्थे पनि । कलेज जीवनमा उनले खेलेरै केही प्रशंसा पत्र र पुरस्कार समेत सँगालेका थिए।

कलेज सकेर उच्च शिक्षातिर पाइला चाल्नेबेलामा उनको भावी शैक्षिक योजनाका रुपरेखा कोर्न उनका पिताजी वीपी कोइराला अघि सरे। पिता र पुत्रवीच केही प्रसंगमा सम्वाद पनि चल्यो। तर पिताजीले चिकित्सा शास्त्र पढेर जनताको स्वास्थ्य सेवामा संलग्न हुनुपर्छ भन्ने सुझाव नै अन्तिम निर्णय हुनपुग्यो। यो निर्णयमा कुनै पनि संशोधन सम्भव थिएन। आज्ञाकारी कान्छा सुपुत्र शशांकले शीर हल्लाएर पिताजीको सुझाव ग्रहण गर्नुको विकल्प सोच्न पनि सक्दैनथिए। भयो पनि त्यस्तै।

मनभित्र उम्रदै गरेको भविष्यमा चर्चित क्रिकेटर हुने सपनालाई सदाका लागि विशर्जन गरेर शशांक चिकित्सा शास्त्र पढ्न कम्मर कसेर लागे। अन्तत उनी अव्वल दर्जाको नेत्र चिकित्सक बनेर सेवामा लागे। नाम पनि कमाए। पिताजीलाई प्रशन्न पनि तुल्याए, आफू भित्रको खेलाडीलाई थुम्थुम्याएर उनी अरुको उपचारमा सरिक भए।

व्यक्तिले कोरेको मार्गचित्रमा जीवन अघि बढिरहन्छ भन्ने कुनै टुंगो हुँदैन। अलिकति इच्छा, केही परिस्थितिको असर र धेरैजसो नियतिको खेल अनुसार नै जीवनको भावी रेखा कोरिन्छ अनि त्यसैमा हिँडिरहन व्यक्ति विवश हुन्छ भन्छन् ठक्कर खाएर अनुभव सँगालेका मानिसहरु।

नेत्र चिकित्सक शशांक कोइरालाको जीवनमा पनि यस्तै भैदियो। खेलाडी हुनचाहन्थे तर हुन पाएनन्। राम्रा चिकित्सक थिए, त्यसमा पनि निरन्तरता हुनपाएन र खिच्यो उनलाई राजनीतिले। राजनीतिमा छन् तर छैनन् सन्तुष्ट।
हिजो शनिबार एउटा कार्यक्रममा मुखै खोलेर उनले मनको व्यथा सुनाउँदै आफूले चिकित्सा क्षेत्रमा जस्तो सन्तुष्टि राजनीतिमा नपाएको व्यथा पोखे। नवलपरासीका मतदाताले पटक पटक उनलाई चुनेर प्रतिनिधि सभामा पठाएका छन्। ती मतदातालाई सांसद कोइरालाले के कति सन्तुष्टि दिन सके या सकेनन्, त्यसको नापतौल त नवलपरासीमा भै नै रहेको होला। तर कोइराला भने राजनीतिसँग आफू विरक्तिएको व्यथा काठमाडौंका सभाहरुमा पोख्न थालेका छन्, तिहारको झिलिमिलीमा।

शशांकले सुनाए,‘सेवा गर्नु नै सबै भन्दा ठूलो कुरा हो। मैले मेडिकलमा एक लाख जति अपरेसन गरें। जुन सन्तुष्टि मलाई हुन्छ, करोडाैँ पैसा दिएपनि त्यो सन्तुष्टि अन्यत्र मिल्दैन। आजकल म राजनीति गर्दैछु। तर मेडिकल साईन्स हातमा हुन्छ राजनीति त कहिले पनि तपार्इंको हातमा हुँदैन। सोच्यो एउटा कुरा भैदिन्छ अर्को।’

तिहार पर्वका अवसरमा शनिबार काठमाडौंमा आयोजित शुभकामना कार्यक्रममा पुस्तक लोकार्पण गरेपछि कोइरालाले राजनीतिबाट आफू सन्तुष्ट नभएको खुलासा गरेका थिए।

चिकित्साबाट जब राजनीतिमा उत्रिए शशांक, त्यसपछि मानिसहरुले उनमा वीपीको गुण खोज्न थालेका थिए। नेपाली कांग्रेसको नेतृत्व शशांकको काँधमा सरोस्, वीपीकै जस्तो ओजश्वी र आभायुक्त नेतृत्व देशले पाओस् भनेर आशा गर्ने मानिसहरुको कमी थिएन। असम्भव जस्तै लाग्ने यस्तो आशा पूरा हुने कुरै थिएन। पुत्र भएपनि शशांक स्वयं वीपी थिएनन् भनेर बुझ्न उनका अन्ध समर्थकलाई निकै लामो समय लाग्यो। गएको महाधिवेशनमा सभापतिको उम्मेदवार नहुँदा र छुट्टै गुट बनाएर नेतृत्व नलिईदिँदा खिन्न भएका कतिपय कांग्रेसजन शशांकलाई ताछ्न र चिथोर्न थालिसकेका थिए।

अहिले आएर उनी आफैंले राजनीतिप्रति देखाएको असन्तुष्टि र विरक्तिले आलोचकलाई खुलेर टिकाटिप्पणी गर्ने मौका दिएको छ भने त्यो अनौठो पनि भएन। तर स्यावासी र आलोचनाको परवाह नगरी शशांकले राजनीतिसँगको संगत आफूलाई सहज नभैरहेको यथार्थ भने सार्वजनिक गरिदिएका छन्।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१