
काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गत आज नेपालले युएईसँग खेल्दैछ ।
युएईको दुबईमा नेपाली समयअनुसार आज राति साढे ९ बजे नेपालले दोस्रो चरणको पहिलो खेल खेल्नेछ ।
दोस्रो चरणका लागि नेपालको समूहमा युएई, बहराइन र यमन छन् ।
फिफा वरीयतामा युएई ६९औं स्थानमा छ । युएई समूहको सबैभन्दा बलियो टिम हो । बहराइन ८३औं र यमन १५६औं स्थानमा रहँदा नेपाल १७३औं स्थानमा छ ।
दोस्रो चरणका खेलहरू होम एन्ड अवेका आधारमा हुनेछन् । नेपालले तीनै टिमसँग होम एन्ड अवे गरी २-२ खेल गरी ६ खेल खेल्नेछ ।
जस अनुसार पाँच दिनपछि नेपालले दोस्रो खेल घरेलु मैदानमै खेल्नेछ। नेपालले मंसिर ५ मा यमनसँग दोस्रो खेल खेल्नेछ ।
नेपाल र यमनबीचको खेल दशरथ रंगशालामा साँझ ७ बजे हुनेछ ।
पहिलो चरणमा लाओसलाई पराजित गर्दै नेपाल दोस्रो चरणमा पुगेको थियो ।
चार टिममध्ये शीर्ष दुई टिम एसिया कपमा छनोट हुनेछन् भने दुई टिम विश्वकपको तेस्रो चरणका लागि छानिनेछन् । पुछारका दुई टिमको विश्वकप छनोट यात्रा सकिँदा एसिया कपको तेस्रो चरणमा स्थान बन्नेछ ।
नेपाली टिम
गोलकिपरः किरणकुमार लिम्बु, दीप कार्की, अभिषेक बराल
डिफेन्डरः सनिश श्रेष्ठ, रोहित चन्द, अन्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, एरिक विष्ट, छिरिङ लामा, योगेश गुरुङ
मिडफिल्डर : लकेन लिम्बु, उत्सव राई, कृतिश रत्न छिन्जु, मनिष डाँगी, सेसेहाङ आङ्देम्बे, निशान हमाल
फरवार्डः अन्जन विष्ट, आयुष घलान, जिलेस्पी जंग कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट, राजेश परियार