काठमाडौं । बाँकेमा प्रहरीले गोली चलाएको छ ।
एक फरार प्रतिवादीलाई नियन्त्रणमा लिन गोली चलाउनुपरेको प्रहरीले जनाएको छ ।
शुक्रबार बिहान पौने ११ बजेतिर जानकी गाउँपालिका वडा नम्बर ४ मा गोली चलाएर एक जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नारायण डाँगीले बताए ।
प्रहरीले आकाश रानालाई पक्राउ गरेको हो । उनको तिघ्रामा गोली लागेको छ । घाइते भएका उनलाई नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि लगिएको छ।
प्रहरीका अनुसार राना ज्यान मार्ने उद्योग कसुरका फरार प्रतिवादी हुन् । कात्तिक ३० गते बिहान ३ बजे कोहलपुरमा उनीसहित केही व्यक्तिहरूले मीनबहादुर विकलाई खुकुरी प्रहार गरेका थिए ।
खुकुरी प्रहारबाट विक गम्भीर घाइते छन् । उनको भारतको लखनऊस्थित अस्पतालमा उपचार भइरहेको छ ।
‘उनीहरूबीच केही पुरानो रिसिइबी थियो । के हो भन्ने हामी अनुसन्धान गर्दैछौं,’ उनले भने, ‘अहिले पक्राउ परेका व्यक्ति आपराधिक पृष्ठभूमि भएका व्यक्ति हुन्।’
उनकाअनुसार राना उक्त घटनापछि फरक-फरक ठाउँमा बस्दै आएका थिए । प्रहरीले उनलाई खोजी गरिरहे पनि विभिन्न ठाउँमा पुगेका थिए ।
भारत भाग्न उनले त्यहाँबाट दुई जना सहयोगी समेतलाई बोलाएको डिएसपी डाँगीले बताए । ‘दुई जना भारतीय पनि बोलाएका रहेछन् । उनीहरू भने भाग्ने । बारीमा फेला परेका उनलाई नियन्त्रणमा लिन खोजेका थियौं, भागेपछि गोली चलाउनुपर्यो,’ उनले भने ।
रानाविरूद्ध कात्तिक २८ गते नाबालिगमाथि जबरजस्ती करणीको प्रयास गरेको आरोपमा जाहेरी कार्यालयमा परेको थियो ।
त्यस्तै जेल सजाय समेत काटिसकेको प्रहरीले फेला पारेको छ । लागु औषधको मुद्दामा काठमाडौं जिल्ला अदालतको आदेश बमोजिम उनले ५ वर्ष जेल सजाय काटेको प्रहरीले जनाएको छ । प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।