
काठमाडौं । रूकुम पश्चिममा गाडी दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।
सोमबार बिहान चौरजहारीबाट खलङ्गा जाँदै गरेको लु १ ज २२९७ नम्बरको जिप चौरजहारी नगरपालिका-८ गोइरीजिउलास्थित मध्यपहाडी राजमार्गमा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक (इन्स्पेक्टर) विष्णुप्रसाद श्रेष्ठले जिप सडकबाट डेढ सय मिटर तल भेरी नदी किनारमा खसेको जानकारी दिए ।
जिपमा २२ जना यात्रु सवार रहेको र ती सबै घाइते भएको इन्स्पेक्टर श्रेष्ठले जानकारी दिए । तीमध्ये ७ जनाको अवस्था गम्भीर रहेको उनले बताए ।
घाइतेहरूको उद्धार गरी उपचारका लागि मिसन अस्पताल पुर्याइएको छ ।
जिपमा क्षमताभन्दा बढी यात्रु चढाइएकाले दुर्घटना भएको प्रहरीको आकलन छ । चालक चौरजहारीकै भीमबहादुर विक पनि घाइते छन् ।
दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।