रौतहटमा सडक बत्तीको लाइन काटिएपछि असुरक्षा

रौतहट । नेपाल विद्युत प्राधिकरण चन्द्रपुर वितरण केन्द्रले सडकबत्ती (टावर लाइट) को लाइन काटेपछि वडावासी समस्यामा परेका छन् ।

चन्द्रपुर नगरपालिकाको वडा ४, ५ र ६ मा ३७ वटा, वृन्दावनको विभिन्न वडामा १७ वटा र गुजरा नगरपालिकामा ७ वटा गरी ६१ वटा सडक बत्तीको लाइन काटिएको हो । लाइन काटिए पनि वडा कार्यालयले विद्युतीय मिटर जडानमा चासो दिएको छैन ।

चन्द्रपुर–६ का कामेश्वर चौधरीका अनुसार टावर लाइट जडान भएपछि रातिको समयमा हिँड्डुल गर्न सहज भएको थियो । टावर लाइटको उज्यालो निकै परसम्म पुग्ने हुँदा राती हिड्डुल गर्दा डर नहुने गरेको उनको भनाई छ ।

लाइन काटेसँगै स्थानीय बासिन्दा निरास बनेका छन् । टावर लाइट जडान हुँदा चोरीको घटनामा समेत कमी आएको औल्याउँदै स्थानीयले लाइन पुनः जडान गरिनुपनर्ने आग्रह गरेका छन् ।

करिब ११ मिटर अग्लो टावर लाइटको चारदेखि ६ वटा प्यानलसहित बालिएको सडक बत्तीको लाइन काटिएपछि सम्बन्धित वडाका वडाध्यक्षले मिटर जडान गर्न आनाकारी गरिरहेको स्थानीयको भनाइ छ ।

यता, चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले नगरपालिका मातहतमा रहेका नगरपालिका कार्यालय, स्वास्थ्य संस्था, पशु तथा कृषि कार्यालय र वडा कार्यालयमा जडित मिटरको मात्र बक्यौता रकम भुक्तानी गर्ने बताए ।

नेपाल विद्युत प्राधिकरण चन्द्रपुर वितरण केन्द्रका प्रमुख धिरेन्द्र यादवका अनुसार दसैँअघि नै जडान भएका ती बत्तीको मिटर राख्न वितरण केन्द्रले पटक–पटक आग्रह गर्दा पनि वडा अध्यक्षले वास्ता नगरेको कारण बाध्य भई लाइन काट्नुपरेको हो ।

वडा कार्यालयले मिटर लिन चाहेमा निःशुल्क उपलब्ध गराई पुनः लाइन जोडिने उनले बताए ।

यसअघि चन्द्रपुर नगरपालिकाले जडान गरेको सडक बत्तीको बक्यौता महसुल दुई करोड ६५ लाख रुपियाँ रहेको जानकारी दिनुहुँदै प्रमुख यादवले भुक्तानीका लागि नगरपालिकामा कैयौँ पटक पत्राचार गरेको, भेटेरै पनि नगर प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतसँग संवाद गरेको तर पनि भुक्तानी नभएको बताए ।

प्राधिकरण चन्द्रपुर वितरण केन्द्रले चन्द्रपुर, गुजरा र बृन्दावन नगरपालिकाको सडक बत्तीको लाइन काटिदिएको हो । पालिकाका वडा अध्यक्षले बिनामिटर सडक बत्ती जडान गरेका कारण लाइन काटिएको वितरण केन्द्रले जनाएको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१