एक हजार विद्यार्थीलाई नि:शुल्क एसईई तयारी कक्षा दिँदै एम्बिसन गुरु

काठमाडौं । कक्षा १० मा पढिरहेका एक हजार विद्यार्थीलाई अनलाइन लर्निङ प्लेटफर्म एम्बिसन गुरुले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नि:शुल्क तयारी कक्षा दिने भएको छ । आफ्नो प्लेटफर्ममार्फत पढ्ने विद्यार्थीको सङ्ख्या एक लाख पुगेको उपलक्ष्यमा कम्पनीले एक हजार विद्यार्थीलाई नि:शुल्क पढाउने भएको हो ।

यो अफरमा सहभागी हुन कक्षा १० मा अध्ययनरत विद्यार्थीले प्रधानाध्यापकबाट सिफारिस पत्र बनाउनु पर्ने हुन्छ । चाँडै सुरु हुने यो नि:शुल्क तयारी कक्षा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा सञ्चालन हुनेछ ।

छनोट भएका विद्यार्थीले गणित, विज्ञान तथा प्रविधि, अङ्ग्रेजी, सामाजिक अध्ययनको तयारी गर्न पाउने छन् । एउटा विद्यालयबाट बढीमा १० जना विद्यार्थी मात्र यो अफरमा सहभागी हुन सक्ने एम्बिसन गुरुले जनाएको छ ।

देशभरका विद्यार्थी यो अफरमा सहभागी हुन सुकून् भन्ने उद्देश्यका साथ यस्तो नीति लिइएको कम्पनीका एकेडेमिक निर्देशक प्रकाश पाण्डेले बताए ।

उनका अनुसार अफरमा सहभागी भएका विद्यार्थीले सशुल्क पढ्ने विद्यार्थीका लागि उपलब्ध सबै सुविधा पाउने छन् । जसमा लाइभ क्लास, रेकर्डेड भिडिओ, मक टेस्ट, नोट लगायतका सुविधा समावेश छन् ।

त्यस्तै एसईई परीक्षा हुने समयसम्म नै उनीहरूले प्लेटफर्म मार्फत पढ्न पाउने निर्देशक पाण्डेले जनाए । हाल यो तयारी कक्षाको मूल्य दुई हजार ४९९ रुपैयाँ रहेको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१