• २०८३ जेठ २६
  • 2026 June 09, Tuesday

झापामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

विराटनगर । हात्तीको आक्रमणमा परी झापाको हल्दिबारीमा बुधबार एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका वडा नम्बर २ का वडा कार्यालयका सहयोगी कर्मचारी ६० वर्षीय पाथल राजवंशी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बिहान घरबाट करिब दुई सय मिटर पर उनलाई हात्तीले आक्रमण गरेको थियो ।

दुई सातायता झापा, मोरङ र सुनसरीमा गरी हात्तीको आक्रमणबाट ५ जनाको मृत्यु भइसकेको छ ।

जंगली हात्ती गाउँ छिरेर स्थानीय बासिन्दाको घर भत्काउने, अन्न र बाली खाइदिने साथै अरु भौतिक सम्पत्तिमा क्षति पुर्याउने क्रम बढेको छ ।

कतिपय गाउँहरुमा हात्तीबाट बच्न स्थानीय बासिन्दाले रात्रि गस्ती पनि गरिरहेका छन् ।