• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

अन्नबाली छोडेर फलफूल खेतीमा किसान

ओखलढुंगा । सिद्धिचरण नगरपालिका (सिनपा) ३ बाँसबोटेका अष्टबहादुर राई बहालवाला शिक्षक हुन् । उमेरले ५० नाघेका राई विद्यालयको समय सकिने बित्तिकै सुन्तलाबारीमा भेटिन्छन् । खेतबारीमा अन्नबाली लगाउन नसकेपछि उनले छ वर्षअघि दुईसयबोट सुन्तला रोपेका थिए । गतवर्षदेखि आम्दानी दिन थालेपछि उनले बिरुवाको संख्या बढाएका छन् । अहिले सात सय बोट रोपिसके ।

‘गाउँमा युवा छैनन् । सबै विदेशीए ।’ अष्टबहादुरले भने, ‘बुढेसकाल लागेपछि फलफूल खेतीमा जाँगर चलाइयो । पछि युवाहरु गाउँ फर्केर सम्हाल्छन् कि भन्ने आश छ ।’ उनीहरुले ४० घरधुरी मिलेर एभरेष्ट कृषि सहकारी दर्ता गरेका छन् । सहकारीकै नेतृत्वमा सिनपा ३ मा १५ हजार बोट सुन्तला र कागती रोपिसके ।

‘प्रत्येक घरले थोरैमा ४० बोट सुन्तला रोपेका छौँ ।’ एभरेष्ट सहकारीका अध्यक्ष डिकबहादुर राईले भने, ‘सुन्तला ब्लकको रुपमा हाम्रा वडामा कृषि ज्ञान केन्द्रले सहयोग गरिरहेको छ ।’ गतवर्ष २५ लाखको सिंचाई ट्यांकी निर्माण गर्न कृषि ज्ञान केन्द्रले बजेट उपलब्ध गराएको थियो । हालसम्म यस वडाबाट उत्पादित सुन्तला स्थानीय बजारमै बिक्री भईरहेको छ । तर केही वर्षपछि उत्पादन बढ्ने भएकोले जिल्ला बाहिरको बजारको खोजी गर्ने योजनामा स्थानीय छन् ।

सिनपा ५ का ३५ वर्षिय निमानुरी शेर्पा छ वर्ष मलेसिया बसेर फर्किए । गाउँमा अन्नबाली बाँदरले खानै नदिएपछि चारवर्षअघि उनले किवि खेती शुरु गरे । १२ रोपनी क्षेत्रफलमा किवी रोपेका उनको किवि पोहोर सालदेखि फल्न थाल्यो । पहिलो लटमै एक हजार दुई सय किलो फलाए । बाँदरले किवि फल नखाएपछि उनी किवि खेतीमा हौसिएका छन् । यसवर्ष तीन हजार किलो उत्पादन हुने अनुमान गरेका छन् ।

‘किविले मात्रै नहोला भनेर मैले पोहोरदेखि दन्ते ओखर पनि रोपेको छु ।’ निमानुरीले भने, ‘अब फलफूल मात्रै रोप्ने योजना बनाएको छु । तुरुन्तै नबिग्रिने खालको फलफूल रोपेमा बिक्रीका लागि समेत समस्या नहुने रहेछ ।’

सिनपा ३ का ७७ वर्षिय बलबहादुर राईले १५ वर्षदेखि फलफूल नर्सरी व्यवसाय गर्दै आएका छन् । खासगरि कागती र सुन्तलाको बेर्ना उत्पादन गर्ने राईको आम्दानी वार्षिक तीनदेखि पाँच लाख छ । पछिल्लो समय जिल्लाभित्रै धेरैजसो बेर्ना बिक्री हुने गरेको राईले बताए ।

‘पहिले लगेर सुन्तला कागती रोप भन्दा पनि मान्दैनथे ।’ उनले भने, ‘अहिले किनेर लानेहरुको संख्या बढेको छ । यसले फलफूल खेतीमा आकर्षण बढेको देखिन्छ ।’

सुनकोशी गाउँपालिका १ बलखुमा १५ हजारभन्दा बढी आँपका बोट रोपिएकोमा करिब ५ हजारले यस वर्षदेखि उत्पादन दिन थालिसकेको छ । किसानहरू पछिल्लो समय फलफूल खेतीतर्फ आकर्षित हुनथालेका छन् । अन्नबाली र तरकारीभन्दा  फलफूल खेती आम्दानीको दिगो स्रोत हुने देखेपछि किसानहरूको आकर्षण फलफूल खेतीमा बढेको हो ।

भूगोलअनुसार बेँसीदेखि लेकसम्मका किसानरूले मेवा, ड्रागनफ्रुट, किवी, केरा, सुन्तला, कागतीजस्ता फलफूलको व्यावसायिक खेती शुरु गरेका छन् । खेती विस्तारले ओखलढुंगा फलफूलमा आत्मनिर्भर बन्दैगएको छ ।

एकपटकको लगानीले निरन्तर आम्दानी दिने भएकोले तरकारीभन्दा फलफूल खेती गर्नु राम्रो भएको किसानहरु बताउँछन् । कृषि ज्ञान केन्द्रलगायतका सरकारी निकायले समेत अनुदान कार्यक्रममा फलफूललाई प्राथमिकता दिएको छ ।

‘फलफूल खेतीमा अनुदान सहयोग गर्दा त्यसको प्रतिफल पछिसम्म देखिने रहेछ । तरकारी खेती जस्तो किसानले तुरुन्तै छोडेर हिँड्ने पनि नहुने रहेछ ।’ कृषि ज्ञान केन्द्र ओखलढुंगाका प्रमूख हेम आले मगरले भने, ‘उत्पादन दिन थालेपछि फेरी किसानका लागि पेन्सन जस्तो आम्दानीको स्रोत हुन्छ । त्यसैले किसानको माग अनुसार फलफूललाई प्राथमिकता दिएर अनुदान वितरण गरिरहेका छौँ ।’

जिल्लाको २३ हजार ८ सय ७० हेक्टर खेतीयोग्य जमिनमध्ये पाँच वर्षअघिसम्म ३ सय ३९ हेक्टरमा  फलफूल खेती हुन्थ्यो । हाल उक्त क्षेत्रफल बढेर ५ सय ३२ हेक्टर पुगेको छ । यसबाट जिल्लाका किसानले वार्षिक १ करोड ५० लाख रुपैयाँ आम्दानी गर्ने गरेका छन् । वर्षेनी फलफूलको बिक्रि बढ्ने कृषि ज्ञान केन्द्रका बागवानी अधिकृत टिका बानियाले बताए ।

गत आर्थिक वर्षमा मात्रै कृषि ज्ञान केन्द्रले ६३ लाख ४९ हजार पाँच सय साठी रुपैंया फलफूल खेती गर्ने कृषक र कृषक समूहलाई वितरण गरेको छ ।