सन् २०२४ मा पर्दामा देखिने छैनन् यी स्टार

मुम्बई । सन् २०२३ बलिउडका लागि जबरदस्त रह्यो । शाहरुख खान, सलमान खान, रणवीर कपुर, सनी देवल, रणवीर सिंहका फिल्मले बक्सअफिसमा सफलताको कथा लेखे । उनीहरुले केही पुराना रेकर्डलाई तोडेर नयाँ रेकर्ड बनाए ।

सन् २०२४ मा पनि बलिउडका केही फिल्मबाट बक्सअफिसमा सफलताको आशा छ । सन् २०२३ को झैं बक्सअफिसमा नयाँ रेकर्ड कोर्ने सम्भावित फिल्मको आँकलन सुरु भइसकेको छ । तर बलिउडका केही स्टारलाई सम्भवतः २०२४ मा दर्शकले पर्दामा हेर्न पाउने छैनन् । किनकि उनीहरुको हातमा फिल्मको लाइनअप छैन ।

शाहरुख खान

सन् २०२३ शाहरुख खानका लागि सम्झिने वर्षका रुपमा स्थापित भएको भयो । यो वर्षका उनका तीन फिल्म रिलिज भए । ‘पठान’ र ‘जवान’ले त १ हजार करोड क्लबमा आफूलाई दर्ता गराए ।

फिल्म ‘डंकी’ले राम्रो प्रदर्शन त गर्न सकेन, तर बक्सअफिसमा अझै टिकिरहेको छ । उनको नयाँ फिल्म के हुनेछ भन्ने अहिलेसम्म घोषणा गरिएको छैन । यो अवस्थामा सम्भवत शाहरुख सन् २०२४ मा कुनै पनि फिल्ममा देखिने छैनन् । उनको आगामी फिल्म ‘टाइगर भर्सेज पठान’ हो ।

सलमान खान

अभिनेता सलमानको अवस्था पनि शाहरुखकै जस्तो छ । सन् २०२३ मा उनका दुई फिल्म ‘किसीका भाई किसीका जान’ र ‘टाइगर ३’ रिलिज भए । पहिलो फिल्म खासै सफल भएन । ‘टाइगर ३’ले बक्सअफिसमा औषत मात्र व्यापार गर्यो । ‘टाइगर भर्सेज पठान’का अलावा सलमानको अर्को फिल्म ‘द बुल’ हो । जसको निर्माण करण जोहारले गर्दैछन् । यो फिल्म सन् २०२५ मा मात्र रिलिज हुने बताइएको छ ।

रणवीर कपूर

सन् २०२३ मा रणवीरले आफ्नो करियरकै सबैभन्दा ठूलो सफलता पाए । ‘तु झुठी मे मक्कार’ र ‘एनिमल’को बक्सअफिस सफलताले उनलाई बलिउडका सबैभन्दा भरोसायोग्य अभिनेताका रुपमा स्थापित गरायो ।

रणवीरका धेरै फिल्म अहिले घुमिरहेका छन्, जुन अगाडि रिलिज हुन्छ भन्ने टुंगो लागिसकेको छैन । रणवीरको आगामी फिल्म कुन हुनेछ भन्नेसमेत निक्यौल हुन सकेको छैन । उनी ‘एनिमल’ पछि ‘रामायण’को सुटिङ गर्नेछन् । उनीसँग ‘एनिमल पार्क’ र ‘ब्रह्मास्त्र २’ पनि पाइपलाइनमा छन् । तर यी फिल्म रिलिज हुन केही समय लाग्नेछ ।

इमरान हाशमी

‘टाइगर ३’ मा आतिश रहमान बनेर सलमानसँग द्वन्द्व गरेपछि इमरान हाशमीको आगामी प्रोजेक्टबारे नयाँ जानकारी केही बाहिर आएको छैन । तेलुगू फिल्म ‘ओजी’मा इमरानको अभिनय रहे पनि यो फिल्म कहिले रिलिज हुने भन्ने टुंगो छैन ।

अभिषेक बच्चन

अभिषेकका लागि सन् २०२३ सुखद हुन सकेन । सन् २०२३ मा उनको एकैमात्र फिल्म ‘घुमर’ रिलिज भयो । यो फिल्म थिएटरमा फेल भए पनि ओटिटीमा भने पास भयो । अभिषेकको हातमा सन् २०२४ मा कुनै फिल्म वा वेब सिरिज छैन ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१