काठमाडौं । नेपाल–भारत अन्तर सरकारी समितिको बैठक भएको छ । अनधिकृत व्यापार नियन्त्रण हेतु व्यापार, पारवहन र सहकार्य सम्बन्धी भारत-नेपाल-अन्तर सरकारी उपसमिति (आइजीएससी) को बैठक शुक्रबार र शनिबार काठमाडौंमा भएको हो ।
बैठकमा भारतीय टोलीको नेतृत्व भारत सरकार वाणिज्य मन्त्रालयका सहसचिव विपुल बंशल र नेपाली टोलीको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रामचन्द्र तिवारीले गरेका थिए ।
व्यापार र लगानी सम्बन्धलाई सुदृढ बनाउन लक्षित द्विपक्षीय संयन्त्र आईजीएससीको दुई दिने बैठकले विभिन्न महत्वपूर्ण विषयहरूमा छलफल गरेको भारतीय राजदूतावासले जनाएको छ । दुवै पक्षले औषधीय तथा आयुर्वेदिक वस्तुका लागि आपसी बजार पहुँचबारे छलफल गरेका छन् ।
भारतीय राजदूतावासले जारी गरेको विज्ञप्तिमा भारतले एफडीआईलाई प्रोत्साहन गर्न हेतु पेरिस महासन्धिको प्रावधान अनुसार आईपीआर व्यवस्थाको आवश्यकतामाथि प्रकाश पारेको उल्लेख छ । बैठकमा समृद्ध द्विपक्षीय व्यापारबारे साझा दृष्टिकोण प्रस्तुत गर्दै दुवै पक्षले पहलहरु कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
‘नयाँ एकीकृत जाँच चौकी र रेलमार्ग निर्माणसहित भारत र नेपालबीचको निर्बाध अन्तरदेशीय कनेक्टिभिटीलाई थप सुदृढ गर्न द्विपक्षीय पहलको आवश्यकतालाई बैठकले जोड दिएको थियो । समृद्ध द्विपक्षीय व्यापारबारे साझा दृष्टिकोण प्रस्तुत गर्दै दुवै पक्षले यी पहलहरु कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।’ प्रेस विज्ञप्तिमा भनिएको छ, ‘नेपालको आयात र निर्यातमा उल्लेखनीय योगदान पुर्याइरहेको भारत नेपालको प्रमुख व्यापार र लगानी साझेदारको रूपमा रहेको छ । यस बैठकमा भएको छलफलले दुई देशबीचको आर्थिक र व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।’