औषधि उत्पादनको काम पुन : थाल्न निर्देशन दिदै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल औषधि लिमिटेडलाई तत्काल २० प्रकारका औषधि उत्पादनको काम पुनःथाल्न निर्देशन दिएका छन् ।

आइतबार दिउँसो नेपाल औषधि लिमिटेडका अध्यक्ष यज्ञ न्यौपानेसहितको टोलीलाई सिंहदरबार बोलाएर प्रधानमन्त्रीले औषधि उत्पादन थाल्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

छलफलमा प्रधानमन्त्रीले विगतमा नेपाल औषधि लिमिटेडले औषधि उत्पादनका क्षेत्रमा राम्रो काम गरेको र पछिल्लोसमय त्यसमा अबरोध देखिएको भन्दै नयाँ ढंगले काम अगाडि बढाउर्नेमा पर्नेमा जोड दिएर आवश्यक सहयोगका लागि सरकार तयार रहेको बताए ।

“विगतमा नेपाल औषधि लिमिटेडले औषधि उत्पादनका क्षेत्रमा राम्रो काम गरेको थियो । बीचमा चाहिँ “अपडाउन” भएको मैले बुझें । औषधि उत्पादनको कामलाई नयाँ ढंगले गति दिनुपर्छ भनेर नै मैले यो बैठक बोलाएको हुँ । तपाईंहरूले काम सुरू गर्नुस् । सरकारको तर्फबाट जे–जस्तो सहयोग गर्नुपर्छ, त्यो काम म गर्छु” प्रधानमन्त्री सचिवालयले उल्लेख गरेको छ ।

प्रधानमन्त्रीले अहिले २० वटा औषधि उत्पादनबाट काम सुरू गरेर भविष्यमा त्यसको गुण र मात्रा दुबै बढाउनुपर्नेमा जोड दिए ।

दाहालले भने,“देश आत्मनिर्भर बन्ने एउटा राम्रो क्षेत्र यो पनि हो । सबै कुरा एकैपटक नहोला । तपाईंहरू काम सुरू गर्नुस् । मैले पनि अर्थ मन्त्रालय र उद्योग मन्त्रालयसँग थप छलफल गर्छु । यस क्षेत्रमा देखिने गरी काम गरौं ।”

छलफलमा लिमिटेडका अध्यक्ष न्यौपानेले लिमिटेडले १० प्रकारका औषधिहरू उत्पादन गरिरहेको र तत्काल २० प्रकारका औषधि उत्पादनका लागि आवश्यक गृहकार्य भइरहेको जानकारी प्रधानमन्त्री दाहाललाई गराए ।

न्यौपानेले लिमिटेडले भुक्तानी गर्नुपर्ने पूर्ववत दायित्वका कारण काम प्रभावकारी हुन नसकेको बताउँदै केही प्राविधिक जनशक्तिको व्यवस्था, मेसिनहरूको गुणस्तर वृद्धि र केही नयाँ मेसिनहरूको खरिद गरी उत्पादनको कामलाई व्यवस्थित तुल्याइने बताए ।

 

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१