भूकम्प प्रभावित जाजरकोटमा भारतले बनाइदियो २०० अस्थायी आवास

काठमाडौं । भारत सरकारले नेपालको भूकम्प प्रभावित जिल्ला जाजरकोटमा भूकम्प प्रभावितहरूका लागि २०० वटा अस्थायी आवास निर्माण गरिदिएको छ ।

गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निचयुडको भूकम्पपछि प्रभावित भएकाहरूको बसोबासका लागि भारत सरकारले २०० वटा अस्थायी आवास बनाइदिएको हो ।

पहिलो चरणअन्तर्गत २०० वटा अस्थायी आवास निर्माण गरिएको र हालै भएको विदेशमन्त्री डा. एस जयशंकरको नेपाल भ्रमणका क्रममा ती आवासहरू नेपाल सरकारलाई हस्तान्तरण गरिएको काठमाडौंस्थित भारतीय राजदूतावासले जनाएको छ ।

भारतले नेपाल विपद्मा पर्दा विशेष चासो र प्राथमिकताका साथ सहयोग उपलब्ध गराउँदै आएको छ ।

जाजरकोटमा भूकम्प गएपछि सबैभन्दा पहिला राहत सामग्री सहयोग गर्ने बाह्य राष्ट्र पनि भारत नै हो । विभिन्न चरणमा गरेर भारतले करोडौंको राहत सामग्री उपलब्ध गराइसकेको छ ।

यस्तै भारत सरकारका तर्फबाट नेपालमा भूकम्पपछिको पुनर्निर्माणमा १० अर्ब रूपैयाँ अनुदान सहयोगको घोषणा पनि विदेशमन्त्री जयशंकरको नेपाल भ्रमणमा भएको छ ।

 

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१