युगान्डामा नेपालीहरुको समस्याबारे प्रधानमन्त्रीलाई जानकारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाललगायतको भ्रमण टोलीसँग युगान्डामा रहेका नेपालीहरुले आफूहरुले व्यहोरिरहेको समस्याका बारेमा जानकारी गराएका छन् ।

असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम)को उन्नाइसौँ सम्मेलनमा भाग लिन युगान्डाको कम्पाला पुगेका प्रधानमन्त्री दाहालसहितको टोली समक्ष स्थानीय नेपालीहरुले भोगिरहेको समस्याका बारेमा जानकारी गएका हुन् । नेपालीहरूसँगको भेटघाट कार्यक्रममा विशेषगरी अफ्रिकी देशहरुको समस्याका बारेमा जानकारी गराइएको थियो ।

गैरआवासीय नेपाली संघ युगान्डाका अध्यक्ष रमा अर्यालले आफ्नो देशको प्रधानमन्त्री लगायतका नेताहरू भेट्न पाउँदा अत्यन्तै खुसीका साथै अभिभावकत्व महसुस भएको बताउँदै युगाण्डामा रहेका नेपालीहरूको अवस्थाबारे जानकारी गराएकी थिइन् ।

भेटघाट कार्यक्रममा गैरआवासीय नेपाली संघ युगान्डाका संरक्षक रमेश कँडेलले युगान्डामा ३५० जनाभन्दा बढी नेपाली रहेको, विगत ३० वर्षदेखि नेपालीहरूले युगाण्डाको विकास निर्माण र व्यापार व्यवसायमा समेत राम्रो भूमिका निर्वाह गरिरहेको बताउँदै युगान्डामा रहेका नेपालीहरूले व्यहोर्नु परेको समस्याका बारेमा जानकारी गराए ।

उनले अफ्रिकामा नेपालीहरुको स्थिती र व्यहोर्नु परेको समस्या जानकारी गराउने क्रममा मानव तस्करहरुले ट्रान्जिट र राम्रो कामको प्रलोभनमा यहाँ ल्याई अलपत्र पारिदिने, अबैध रुपमा नेपाली महिलालाई यहाँका डान्सबारमा ल्याउने, श्रम स्वीकृती, पासपोर्ट नविकरण, नेपाल एयरपोर्टमा अध्यागमनले दिने दुःख, बैंकिङ्ग कारोबारलगायतका समस्या समधानका लागि अनुरोध गरेका थिए ।

कार्यक्रममा युगान्डाका लागि नेपालका अवैतनिक वाणिज्यदूत डा.सुधीर रुपारेलियाले युगान्डामा प्रधानमन्त्री, परराष्ट्रमन्त्रीलगायत उच्च अधिकारीलाई स्वागत गर्न पाउँदा खुशी लागेको बताए । उनले नेपाल र अफ्रिकाले लगानी र समृद्धिका लागि साझेदारी बढाउन प्रयत्न गर्नुपर्ने आवाश्यकता रहेको समेत बताए । कार्यक्रममा परराष्ट्र सचिव सेवा लम्साललगायत नेपाल सरकारका उच्च अधिकृतहरुको समेत उपस्थिति थियो ।

भेटघाटमा प्रधानमन्त्री दाहालले आफ्नो युगान्डा भ्रमण पहिलो भ्रमण रहेको बताउँदै यहाँ रहेका नेपालीहरूसँग अन्तरक्रिया गर्न पाउँदा खुसी भएको बताए ।

प्रधानमन्त्रीले भने, ‘युगाण्डामा मेरो पहिलो भ्रमण हो । तपाईहरूसँग भेटेर कुराकानी गर्न पाउँदा खुसी लागेको छ । यहाँ तपाईंहरूले केही कुरा उठाउनुभयो । ती महत्वपूर्ण छन् । हिजोमात्रै भिजिट भिसाका बारेमा केही महत्वपूर्ण निर्णय गरिएको छ । केही समयअघि आप्रवासन समस्या समाधानका निम्ति सबै राजदुतहरू बोलाएर कुरा गरिएको छ ।’

‘विदेशमा रहेका नेपालीहरूको समस्या सम्बोधन नगरी देशले गति लिन सक्दैन । विदेशमा रहेका नेपालीहरूका दुःखकष्ट बुझ्ने अवसर पनि पाएँ’ प्रधानमन्त्रीले भने । कार्यक्रममा परराष्ट्रमन्त्री एनपी साउदले युगान्डामा रहेका नेपालीहरूले देशको अवैतनिक राजदुतका रूपमा काम गरिरहेको बताउँदै नेपालीहरूले गर्ने हरेक क्रियाकलापसँग देशको विम्ब जोडिने भएकाले देशको प्रतिष्ठा बढाउने गरी काम गर्न अपिल गरे ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१