आर्थिक अवस्थाले पत्रकारिता समस्यामा परेको होइन: अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक अवस्थाले मात्र पत्रकारिता क्षेत्र समस्यामा नपरेको जानकारी दिएका छन् ।

गोविन्द वियोगी स्मृति ट्रष्टद्वारा स्थापित गोविन्द वियोगी पत्रकारिता पुरस्कार हस्तान्तरण तथा वरिष्ठ पत्रकार सम्मान समारोहलाई नुवाकोटमा शनिबार सम्बोधन गर्दै मन्त्री महतले सूचना प्रविधिको विकासले परम्परागत सञ्चारमाध्यम जोखिममा परेको जनाएका छन् ।

उनले भने, ‘हात–हातमा स्मार्ट फोन छ, त्यहाँ जसले जे पनि राख्न पाउँछ । कतिपय झुटा कुरा पनि सेयर भइरहेका हुन्छन् । हेर्दाहेर्दै त्यही कुरा मानिसलाई सत्य लाग्न थाल्छ । आम मानिसले गम्भीर कुरा चाहिँ पढ्न छाडे । मानिसहरु गहिराइमा जान छोडे, टिकटकमा रमाउन थाले । गहिराइमा पुगेर सत्य तथ्य बुझेर विचार बनाउने मानिसहरुले छाडे । यो अत्यन्तै खतरनाक हो ।’

प्रतिबन्धित अवस्थामा पनि निर्भिक भएर पत्रकारितामार्फत् आफ्नो कुरा राख्नु चानचुने कुरा नभएको उनको भनाइ थियो ।

मन्त्री महतले विगतको पत्रकारिता स्मरण गर्दै लोकतान्त्रिक धारबाट होमनाथ दाहाल र वामपन्थीधारबाट गोविन्द वियोगीले प्रकाशित गर्नुभएका पत्रपत्रिका हेर्नैपर्ने बताए ।
उनका अनुसार दबाब र अप्ठ्याराका बाबजुद लोकतान्त्रिक मूल्य र मान्यता देशमा स्थापित गर्ने लक्ष्यका साथ वियोगीले नेपाली पत्रकारीता क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेका थिए ।

उनले भने, ‘वियोगीजी सम्झिराख्नुपर्ने व्यक्तित्व हुनुहुन्थ्यो । त्यसअर्थ ट्रस्ट स्थापना भएको छ । यसको कार्यालय नुवाकोटमा छ, यसमा म अन्त्यै खुशी छु । ट्रस्टको विकास, गतिशीलता पत्रकारितासँग जोडिएको विषयवस्तुमा अन्तक्र्रिया होस्, छलफल होस् । यो परिसरको पूर्णरुपमा उपयोग होस्, ट्रस्ट जीवन्त बनोस् ।’
देशको आर्थिक अवस्था अप्ठ्यारा भएकाले कुनै पनि संघसंस्थालाई राज्यले सहयोग गर्न नसकेको उनले बताए । परिस्थिति सहज भएपछि संघसंस्थाको महत्वलाई बुझेर सरकारले पुनः सहयोग उपलब्ध गराउने उनको भनाइ थियो ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१