पूर्ण खोप कार्यक्रममा अन्धाधुन्ध खर्च गरियो, अनुसन्धान गर्छौं : मन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले सरकारले लागु गरेको पूर्ण खोप कार्यक्रम अगाडि बढ्न नसकेको बताएका छन् ।

राष्ट्रिय दादुरा–रुबेला खोप अभियानको उच्चस्तरीय बैठकमा बोल्दै उनले पूर्ण खोप कार्यक्रम ५२ प्रतिशतभन्दा माथि उठ्न नसकेको भन्दै यसरी लक्ष्य पुरा नहुने बताए ।

उनले भने, ‘हामीले पूर्ण खोप भनेपनि ५२ प्रतिशतभन्दा अगाडि बढ्न सकेको छैन । यो हामीले आ–आफ्नो तरिकाले परिभाषित गरेर बसिरहेका छौ । यही तरिकाले अगाडि बढ्ने हो भने हाम्रो लक्ष्य पूरा हुनेमा मलाई विश्वास छैन ।’

मन्त्री बस्नेतले पूर्ण खोप प्रोजेक्ट अन्तर्गत नेपालमा आउने बजेटको अन्धाधुन्ध रपमा खर्च भइरहेको भन्दै यसको छानबिन गर्नुपर्ने बताए ।

उनले अघि भने, ‘जे जे खर्च भईरहेको छ, कहाँ, कसरी खर्च भईरहेको छ, नेपालको नाममा आएको छ कहाँ गएको छ ?, त्यसकारणले सबैतिर छानबिन गर्नुपर्ने अवस्था सिर्जना भएको छ । हामी सेफ द चिल्ड्रेनले गरेको कार्यक्रमबाट सुरुवात गर्दैछाै । छानबिन गर्नका लागि कमिटि गठन गर्दैछौं ।’

स्वास्थ्य क्षेत्रमा सञ्चालित कार्यक्रमहरुका लक्ष्य पुरा नहुन कसले रोक्यो भन्ने प्रश्न गर्दै उनले म्याचफिक्सिङ् भएको उल्लेख गरे ।

स्वास्थ्य मन्त्रालय संवेदना बोकेको मन्त्रालय भएको बताउँदै उनले परिणममुखी नतिजा आउन गरि काम गर्न आग्रह गरे ।

उनले भने, ‘यो जन्ती जाने काम नगरौं, जुन जुन विषयमा नभई नहुने हो जसको विषय विज्ञता छ त्यो जाउँ, अरु काम नभएकाहरु मन्त्रालयमा नै बसौं । यो विषयमा गम्भीर भएर छलफल गरौं । यो कामलाई छिटो अगाडि बढौं ।’

 

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१