सात वर्षअघि मारिएका अजित मिजारको न्यायका लागि आन्दोलनको घोषणा

काठमाडौं । गैरदलित युवतीसँग प्रेम विवाह गरेका कारण सात वर्षअघि मारिएका काभ्रे पाँचखालका अजित मिजारको न्यायका लागि दलित संघ संगठनहरुले पहिलो चरणका आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका छन् ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एकीकृत दलित मुक्ति मोर्चा नेपाल, व्यवस्था उन्मुलन मोर्चा नेपाल, नेपाल राष्ट्रिय दलित केन्द्र र संयुक्त दलित अधिकार मञ्च नेपालले अजितको न्यायको लागि भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाउनेदेखि आन्दोलन गर्ने कार्यक्रम घोषणा गरेका हुन ।

दलित संघहरुले संयुक्त प्रेस वक्तव्य सार्वजनिक गर्दै यही माघ १५ गते अन्तरक्रिया कार्यक्रम गर्ने जनाएको छ । माघ २० देखि २५ गतेभित्र प्रधानमन्त्रीलाई ज्ञापनपत्र वुझाउने र माघ ३० गते प्रदर्शन गर्दै दोस्रो चरणका आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने बताएका छन् ।

जात व्यवस्था उन्मुलन मोर्चा नेपालकी अध्यक्ष शान्ति गजमेरले न्यायको लागि कानुनी राज्यमा आन्दोलनमै उत्रिनुपर्ने बाध्यता भएको बताइन । योजनाबद्ध रुपमा मारेर झुण्ड्याइएको यथेष्ठ प्रमाण हुँदाहुँदै पीडकलाई उन्मुक्ति दिइएको उनको भनाइ छ ।

नेपाल राष्ट्रिय दलित केन्द्रका अध्यक्ष उपेन्द्र छुटुन्जेलले दलितलाई न्याय दिलाउन कहिलेसम्म सडकमा आउनुपर्ने हो भन्दै प्रश्न गरे । नेपालको कुल जनसंख्यामध्ये १३ प्रतिशत जनसंख्या भएको दलित समूदायलाई उपेक्षा गरिएको बताए ।

२०७३ असार २५ गते अजित र पाँचखालकै ज्याम्दीकी कल्पना पराजुलीबिच प्रेम विवाह भएको र त्यसको दुई दिनपछि असार २९ गते धादिङमा पुर्याएर अजितलाई केटी पक्षका मानिसहरुले हत्या गरेको पीडित पक्षको भनाई छ । अजितको शव अहिले पनि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

अजित र कल्पनाबिचको प्रेम सम्बन्ध, प्रेम विवाह, परिवारको दबाबबाट अलग्याइएको घटना र त्यससँग जोडिएका कयौं प्रमाणहरुले अजितको हत्या भएको छर्लंगै हुँदाहुँदै जिल्ला अदालत धादिङले आत्महत्या गरेको भन्दै प्रतिवादीलाई सफाइ दिएको र उच्च अदालतले पनि जिल्लाकै फैसला सदर गरेको भन्दै उनीहरुले आपत्ति जनाए ।

 

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१