शुक्रराज अस्पताललाई स्वास्थ्यमन्त्रीले भने, ‘एचए र स्टाफ नर्सिङ पढाउने तयारी गर्नुहोस्’

काठमाडौं । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले मेडिकल शिक्षाको उन्नतिको बाटो खुलेको उल्लेख गर्दै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा एचए र स्टाफ नर्स विषय पढाउन अस्पताल प्रशासनलाई तयारी अवस्थामा रहन भनेका छन् ।

उनले त्यसलाई अगाडि बढाउन कसैको आदेश कुर्ने,तर्सिने र खुट्टा कमाउने बेला नभएको र क्रान्तिकारी कदम अगाडि बढाउनुपर्ने बताए ।

बुधबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको ९०औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले स्वास्थ्य र शिक्षा क्षेत्रका समस्याका कारण धेरै नागरिक मानसिक रोगी बनेको भन्दै यी दुई क्षेत्रको सुधारबाटमात्रै ७५ प्रतिशन मानसिक रोगीको समस्या सकिने दाबी गरे ।

‘शिक्षा र स्वास्थ्यमा हामीले राम्रोसँग सुधार गर्ने हो भने ७५ प्रतिशत मानसिक रोग समाप्त हुन्छ । त्यसकारण अब मेडिकल शिक्षामा कुर्ने बेला छैन । तर्सिने बेला छैन । क्रान्तिकारी कदम अगाडि बढाउनुपर्छ ।’

उनले अस्पताल प्रशासनलाई सरुवा रोगबारे शैक्षिक कार्यक्रम सुरु गर्नुपर्नेमा जोड दिँदै भने, ‘हामी अगाडि बढ्ने हो । तपाईंहरु जस्ता होनहार विद्यार्थीहरु लाखौंको संख्यामा उत्पादन गर्नुपर्ने छ । त्यसैले यो अस्पताल पनि तयारी हुुनुस् । यहाँबाट पनि जनशक्ति उत्पादन गर्ने हो ।’

उनले मन्त्रालयमा कुनकुन विषयमा अस्पतालले पढाउन सक्छ, त्यसका लागि निवेदन पठाउन आग्रह गर्दै आगामी शैक्षिक सत्रबाटै पढाई सुरु गराउने आस्वासन दिए । राम्रा काम सुरु गर्न पर्खेर नबस्ने उनको भनाई थियो ।

‘तपाईंहरु तयार हुनुस्, मन्त्रालयले निर्णय हुनेबित्तिकै दुई पटक चिठ्ठी लेखिसकेको छ र फलोअप पनि गरेका छौं । चाँडै आगामी शैक्षिक सत्रबाट सुरुआत गर्नेगरी यो काम गर्ने तयारीमा छौं । प्रक्रिया अगाडि बढेको छ, अस्पतालले अब आउने शैक्षिक सत्रबाटै (एचए र स्टाफ नर्स) जुन अनुमति मागिरहनु भएको हो, त्यो विषय पढाउनका लागि तयार हुनुभयो भने अस्पतालकै इतिहासमा एउटा नयाँ आयाम थपिन्छ ।’

स्वार्थ समुहको लागि राज्यले ऐन निर्माणमा खुट्टा कमाउन नहुने तर्क बस्नेतले गरे । स्वास्थ्यकर्मीको अभाव पूर्ति गर्न १०० देखि ३०० शैयाका सरकारी अस्पतालमा पारामेडिक्स र नर्सिङसहित एमबीबीएस विषय पढाउन प्रस्तावित चिकित्सा शिक्षा ऐनमा समेटिएको छ ।

कत्यसले स्वास्थ्यकर्मीको अभाव पूर्ति गर्नुका साथै नेपालमै ठूलो संख्यामा रोजगारी सिर्जना हुने र नेपाल चिकित्सा शिक्षाको हब बन्ने तर्क मन्त्री बस्नेतले गर्दै आएका छन् ।

 

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१