केही व्यक्ति समाजको हारमोनी विगार्न लागिपरेका छन् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानको पालना र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु राज्यका सबै अंगका साथै सरोकारवाला सबैको दायित्व भएको बताएका छन् ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वन्यायाधीश समाजका पदाधिकारीहरुसँगको छलफलमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।

पूर्वन्यायाधीश समाजका अध्यक्ष टोपबहादुर शिंहसहितका पूर्वन्यायधीशहरुसँगको छलफलमा प्रधानमन्त्रीले अहिले केही व्यक्ति समाजको हारमोनी विगार्न र राम्रो कामलाई पनि नराम्रो भन्दै प्रचार गर्न लागिपरेको भन्दै संविधान र कानूनको पालना गर्न लगाउन पूर्वन्यायाधीशहरुको भूमिकासमेत महत्वपूर्ण रहने बताए ।

प्रधानमन्त्रीले पूर्व न्यायाधीशहरुले विगतमा संविधान र कानूनमाथि आक्रमण हुँदा आवाज उठाएको वताउँदै आगामी दिनमा पनि राज्यका विभिन्न अंग र निकायले गर्ने काममा संविधान र कानूनको पालना भए नभएको वारे निरन्तर निगरानी गरिरहनु पर्ने औल्याए ।

उनले राज्यका जिम्मेवार पदमा बसेका व्यक्तिहरुले भीड हेरेर वा सामाजिक सञ्जालका धारणा हेरेर निर्णय गर्न नहुने भन्दै संविधान र कानूनको पूर्ण पालना गरेर त्यसका आधारमा मात्र निर्णय गर्नुपर्ने बताए ।

प्रधानमन्त्रीसँगको छलफलमा पूर्व न्यायाधीशहरुले राज्यको कार्यकारी प्रमुखका नाताले प्रधानमन्त्रीले अहिलेको व्यवस्था सुदृढ गर्न तथा संविधान र कानूनको पालना गराउन भूमिका खेल्नुपर्ने सुझाव राखे ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१