आईसीसी १९ विश्वकपमा नेपाल भारत र बंगलदेशसँग खेल्ने

काठमाडौं । अफगानिस्तानलाई हराउँदै नेपाल आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटको ‘सुपर सिक्स’ मा पुगेको छ ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनमा हिजो भएको समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई १ विकेटले हरायो । नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६५ रन र दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो ।

नेपाल रहेको समूहबाट पाकिस्तान र न्युजिल्यान्ड पनि ‘सुपर सिक्स’ मा पुगिसकेका छन् । सुपर सिक्समा नेपालले समूह एको पहिलो र दोस्रो स्थानमा रहेका भारत र बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । आउँदो बुधवार बंगलादेश तथा फेब्रुअरी २ तारिखमा भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाल तेस्रो पटक १९ वर्षमुनिको विश्वकपको दोस्रो चरणमा पुगेको हो । यसअघि श्रीलंकामा सन् २००० र बंगलादेशमा २००२ मा भएको १९ वर्षमुनिको विश्वकपमा पनि नेपाल दोस्रो चरण पुगेको थियो । नेपालले सन् २०११ यता पहिलो पटक अफगानिस्तानलाई पराजित गरेर ऐतिहासिक सफलता पाएको छ ।
नेपालले १९ वर्षमुनिको विश्वकपमा टेष्ट राष्ट्रलाई हराएको यो आठौँ अवसर हो । यसअघि नेपालले सन् २००२ मा पाकिस्तान र बंगलादेशलाई, २००४ मा दक्षिण अफ्रिकालाई, २००६ मा दक्षिण अफ्रिका र न्युजिल्याण्डलाई, २००८ मा जिम्बाबेलाई र २०१६ मा न्युजिल्याण्डलाई हराएको थियो ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१