रक्षामन्त्रीको व्यङ्ग्य : ‘मेरो नेता हुने योग्यता नै पुगेको रहेनछ’

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले पत्रकारिता क्षेत्रमा प्रशस्त कमीकमजोरी देखिन थालेकाले सत्य, तथ्य र सन्तुलित समाचार दिनुपर्नेमा जोड दिएका छन् । खड्काले कमिकमजोरी सच्याएर पत्रकारितालाई सही गोरेटोमा हिंडाउन सक्नुपर्ने बताए ।

शनिबार काठमाडौंमा पत्रकार तथा नेपाल पत्रकार महासंघका कोषाध्यक्ष कलेन्द्र सेजुवालद्वारा लिखित पुस्तक ‘फल्स फ्रन्ट पेज’ को विमोचनमा बोल्दै रक्षामान्त्री खड्काले नेपाली सञ्चार जगतमा लगानी गर्ने र स्वार्थका आधारमा सञ्चालन गर्दै आएका राजनीतिक दल र नेताप्रति व्याङ्ग्यात्मक टिप्पणी पनि गर्न भ्याए ।

आफूले कुनै मिडियामा लगानी नगरेको स्पष्ट पार्दै खड्काले आफ्नो नेता हुने योग्यता नपुगेको भन्दै व्यङ्ग्य गरे ।

कार्यक्रमका वरिष्ठ पत्रकार किशोर नेपालले नेपाली सञ्चारमाध्यममा दलका नेताहरुले लगानी गरेको तथा आफैं सञ्चालन गरिरहेकाकाले पत्रकारिता स्वस्थ्य र स्वतन्त्र नभएको उल्लेख गरे । उनले पछिल्लो समय नेता कार्यकर्ता सामाजिक सञ्जालमा वादप्रतिवादमा उत्रिएरै टकराव र आक्षेपको राजनीति गरिरहेको टिप्पणी गरेका थिए ।

नेपालले गरेको सोही टिप्पणीप्रति स्पष्ट पार्दै रक्षामन्त्री खड्काले आफूले नेपाली सञ्चार माध्यममा कुनै लगानी नगरेको प्रस्ट्याए । सञ्चारमाध्यममा लगानी नभएकै कारण उनले आफ्नो नेता बन्ने योग्यता अझै नपुगेको भन्दै व्यङ्ग्य गरेका हुन् ।

‘किशोरजीको त्यो भनाइले म अझै नेता हुने ठाउँमा पुगिसकेको रहेनछु भन्ने कुरा आज अनुभव भयो । किनभने मेरो नेपालका कुनै मिडियामा एक पैसा लगानी छैन्,’ उनले थपे ‘उहाँले भनेको जस्तो सामाजिक सञ्जालमा दोहोरी गर्ने, आक्षेप र टकरावको राजनीति गर्ने ध्यान मेरे अहिलेसम्म पुगेकै छैन । उहाँको त्यो विश्लेषणमा मैंले नेता हुन अझै केही गर्न बाँकी रहेछ र नेताको दर्जामा आफू पुगिनसकेको आभास भयो,’ रक्षामन्त्री खड्काले भने ।

रक्षामन्त्री खड्काले सेजुवालद्वारा लिखित पुस्तक ‘फल्स फ्रन्ट पेज’को सफलताको लागि शुभकामना दिँदै पुस्तकले मिडिया,अध्येता र पत्रकारितामा रुची राख्नेहरुलाई नयाँ ज्ञान प्रदान गर्ने हैसियत राख्ने विश्वास व्यक्त गरे ।

रक्षामन्त्री खड्काले भने, ‘विशेषगरी यो पुस्तकमा गहिरो खोज र शुक्ष्म अनुसन्धानमा आधारित रहेर व्यवसायिक रुपमा लेखिएको पुस्तकले मिडिया, अध्येता र पत्रकारितामा अभिरुची राख्नेहरुलाई नवीनतम जानकारी र ज्ञान प्रदान गर्ने हैसियत राखेको मैंले विश्वास लिएको छु ।’

उनले पत्रकारितामा पनि अन्य क्षेत्रमा जस्तै कमिकमजोरी देखिइरहेको भन्दै सञ्चारमाध्यमले सत्य तथ्य र सन्तुलित समाचार दिनुपर्नेमा जोड दिए ।

उनले भने, ‘अन्य क्षेत्रमा जस्तै पत्रकारिता क्षेत्रमा कमजोरीहरु देखिएका छन् । जुन कुरा हामी सबैले महसुस गर्दै आएका छाैँ । सत्य,तथ्य र सन्तुलित रुपमा विश्वसनीय समाचार प्रवाह गर्ने मूल दायित्वबाट सञ्चारमाध्यम विचलित हुन हुँदैन । पत्रकारिता न्यायको पक्षमा शतीसालझैं उभिनपर्छ । यो आत्मसमीक्षाको विषय पनि हो । हामीले स–साना गल्ती कमजोरीबाट पाठ सिक्दै पत्रकारितालाई सही गोरेटोमा हिंडाउन सक्नुपर्दछ । त्यसका लागि इमान्दारकासाथ काम गर्नुपर्दछ ।’
नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले विमोचित पुस्तक पत्रकारिताका विद्यार्थीका लागि उपयोगी हुने बताए । उनले उक्त पुस्तक सही सूचना प्रवाह र जनमत निर्माण हुने सुनिश्चितताका लागि पुस्तक उपयोगी हुने बताए ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१