घेराबन्दी र बदनाम गर्ने कसरत भइरहेको छ : प्रधानमन्त्री

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियामा घेराबन्दी र बदनाम गर्ने कसरत भइरहेको जानकारी गराए ।

पार्टी कार्यालय पेरिसडाँडामा शनिबार आयोजित शहिद प्रतिष्ठान नेपालको १४ औं वार्षिक साधारण सभा समारोहलाई सम्बोधन गर्दै उनले शान्तिप्रक्रियामा आएपछि पनि वैचारिक राजनैतिक र सांस्कृतिक रुपले घेराबन्दी र बदनाम गर्ने कसरत भइरहेको भन्दै अझ कतिपय सन्दर्भमा बढाउने जमर्काे पनि भइरहेको बताए ।

उनले भने, ‘शान्तिप्रक्रियामा आएपछि पनि वैचारिक, राजनैतिक र सांस्कृतिक रुपले हामीलाई घेराबन्दी गर्ने बदनाम गर्ने कसरत भएकै हो र भइराखेकै छ अहिले पनि । अझ कतिपय सन्दर्भमा त्यो बढाउने जमर्काे पनि भएको छ, यस्तो बेला हामीले शहिद प्रतिष्ठान नेपालको साधारण सभा गर्दै गर्दा विगतको सामान्य समीक्षा गर्दै आउने दिनहरुको निम्ति आफ्नो कार्यभारलाई अझ प्रभावकारी बनाउनेतर्फ सोच्न आवश्यक छ ।’

प्रधानमन्त्री दाहालले शहिद प्रतिष्ठानद्धारा सञ्चालित विद्यालयहरुको आफ्नो पहिचान पनि कायम गर्नुपर्नेमा जोड दिए । उनले शिक्षा विधेयक पारित गर्ने क्रममा प्रतिष्ठानद्धारा सञ्चालित विद्यालयहरुको हकमा पनि राम्रोसँग सम्बोधन गर्नुपर्छ भन्ने हेक्का आफूलाई रहेको बताए ।

‘शहिद प्रतिष्ठानद्धारा सञ्चालित विद्यालयहरुको आफ्नो पहिचान पनि कायम हुने गरी राज्यले नेतृत्व लेओस् भन्ने कुरा बिल्कुल सही छ । अहिले शिक्षा विधेयक सदनमा परिमार्जनको प्रक्रियामा छ । त्यसको विरुद्ध ठूलो आन्दोलन पनि भयो,’ उनले भने,‘यी विद्यालयहरुको हकमा पनि विधेयक पारित गर्ने क्रममा राम्रोसँग सम्बोधन गर्नुपर्छ भन्ने हेक्का मलाइ पनि छ । यसलाई राज्यले सञ्चालन गर्ने तर पहिचान पनि आउनेगरि रुपान्तरण गर्ने, अगाडि बढाउने जमर्काे गरिएको छ ।’

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१