टेकु दोभान क्षेत्रका १३ सम्पदाको पुनर्निर्माण

भूकम्पले क्षतिग्रस्त बनाएका काठमाडौंको थापाथली–टेकु दोभान क्षेत्रमा नदी किनारमा रहेका १३ वटा सम्पदाको पुननिर्माण भएको छ । एसियन बैंकको ऋण सहायतामा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले नदी सुधार परियोजनाअन्तर्गत भूकम्पले क्षतिग्रस्त सम्पदाहरूको पुनर्निर्माण गरेको हो ।

परियोजनाले तीन चरणमा पुनःनिर्माण, सबलीकरण र रेक्ट्रोफिटिङको काम गरेको छ । सो कार्यमा लागत रकमको ५० प्रतिशत एसियन विकास बैंकको ऋण सहयोग हो भने बाँकी ५० प्रतिशत सरकारले बेहोरेको छ ।

परियोजनाअन्तर्गत पुननिर्माण भएका ११ वटा संरचना गुठी संस्थानलाई हस्तान्तरण समेत गरिसकिएको छ । दोश्रो चरणका सम्पदा संरक्षणका विषयमा बिहीबार काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलसमेतको उपस्थितिमा बैठकमा छलफल भएको छ । उनले महानगरपालिकाले सम्पत्ति र दायित्वको जिम्मेवारी लिने बताइन् ।

‘हस्तान्तरण भएर सम्पत्ति मात्र आउँदैन । ऋणलगायतका दायित्व पनि आउँछन् । त्यसैले निर्णय हुनुअघि सबै विषय स्पष्ट हुनुपर्छ,’ उनले भनिन् । परियोजनाले पहिलो चरणमा ३८ करोड ८२ लाख रुपैयाँ लागतमा सम्पदा पुनर्निर्माण गरेको थियो भने अहिले दोस्रो चरणमा ४८ करोड ६४ लाख रुपैयाँमा १३ वटा सम्पदा पुनर्निर्माण गरेको छ । अब ४५ करोड १३ लाख १२ हजार २८५ रुपैयाँ लागतमा काम भइरहेको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१