ट्रकको ठक्करले इलाका प्रशासनका कर्मचारीको मृत्यु

विराटनगर । ट्रकको ठक्करबाट आइतबार बिहान एकजना कर्मचारीको मृत्यु भएको छ । कोशी राजमार्गअन्तर्गत विराटनगरको बरगाछीमा भएको दुर्घटनामा इलाका प्रशासन कार्यालय रंगेलीका कम्प्युटर अपरेटरको मृत्यु भएको हो ।

बागमती प्रदेश ०३–००१ ख १४११ नम्बरको ट्रकले को ३६ प २८८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक सुनसरीको दुहबी नगरपालिका–९ घर भएका इलाका प्रशासनका कर्मचारी २५ वर्षीय नगेनकुमार चौधरीको मृत्यु भएको हो ।

मोटरसाइकल पछाडि सवार उनकी भतिजी १६ वर्षीया सोस्था चौधरी घाइते भएकी छन् । उनको कोशी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि आक्रोशित बनेका स्थानीय बासिन्दाले ट्रकमा आगजनी गरेका थिए । दमकल प्रयोगले प्रहरीले आगो निभाएको थियो । त्यस क्रममा केही बेर राजमार्ग अवरुद्ध भएको थियो ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१