माघमै ढकमक्क फुल्यो लालिगुराँस

काठमाडौं । मुगु सहित कर्णालीका हिमाली र उच्च पहाडी क्षेत्रमा गुराँस फुल्न थालेका छन् । यो वर्ष चैतमा फुल्ने लालीगुराँस माघमै फुलेको छ ।

गुराँस फुल्ने मौसम फागुनदेखि चैत,बैशाख महिना भए पनि माघ पहिलो सातादेखि वनभरि ढकमक्क गुराँस फुलेपछि मुगुका स्थानीय अचम्मित भएका छन् ।

‘पहिले पहिले चैत वैशाखमा लालिगुराँस फुल्ने गथ्र्यो यो वर्ष त माघमै फुल्यो आश्चर्य भएको छ’ छायाँनाथ रारा नगरपालिका ११ का स्थानीय दान बहादुर सावतले बताए ।

मुगुमा गुराँसजस्तै अन्य बोटविरुवामा पनि नयाँ पालुवा लाग्न थालेको स्थानीयहरु बताउँछन् । चैतमा फुल्ने स्याउ पुसमा नै फुलेर स–साना दाना समेत लागिसकेको स्थानीय सावतले बताए ।

यो बर्ष हिमपात र पानी पनि समयमै परेको छैन । जलवायु परिवर्तनको असरका कारण हिमाली भेगमा मौसम अगावै गुराँस फुल्ने र फलफूलका बोटमा दाना लाग्न थालेका छन् ।

अघिल्ला बर्षहरुमा मंसिर पुसमा हिमपात हुने गरेको भएपनी यो बर्ष मुगुमा छिटफुट हिमपात मात्रै भएको र हिउँदे वर्षा पर्याप्त नहुँदा खेतीपाति राम्रो नहुने स्थानीय बताउँछन् ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१