माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै, नेताहरूको जिम्मेवारी हेरफेर गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दैछ । केही दिनदेखि निरन्तर छलफलमा रहेका नेताहरूले आजको बैठकबाट पार्टीका नेताहरूको जिम्मेवारी हेरफेर गर्ने र थप प्रभावकारी बनाउने तयारी गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकले पार्टीको आगामी जागरण अभियानबारे तयारी र नेताहरूको जिम्मेवारी बाँडफाँटबारे टुंगो लगाउने उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
नेताहरूका अनुसार बैठकले प्रदेश इन्चार्जहरूको हेरफेर गर्ने तयारी छ ।

एक नेताका अनुसार प्रदेश इन्चार्जका लागि कोशीमा हरिबोल गजुरेल, मधेशमा लीलामणि पोखरेल, बागमतीमा अग्नीप्रसाद सापकोटा, गण्डकीमा दिनानाथ शर्मा, लुम्बिनीमा चन्द्रप्रकाश खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा गिरिराजमणि पोखरेलको नाम प्रस्ताव भएको छ ।

‘प्रदेशका इन्चार्ज र सहइन्चार्जहरूको नाम स्थायी समितिले टुंगो लगाउने तयारी छ,’ ती नेताले भने । माओवादीमा राष्ट्रिय सभाको अध्यक्ष निर्वाचन र आसन्न उपनिर्वाचनका विषयमा विवाद भएको छ ।वर्तमान सत्ता गठबन्धनमा रहेको नेपाली कांग्रेसभित्र वर्तमान गठबन्धनका विषयमा विभिन्न धारणाहरू रहेको बाहिर आएपछि माओवादी केन्द्रका नेताहरूले आक्रोस पोखेका हुन् । राष्ट्रिय सभाको अध्यक्षमा माओवादी केन्द्रले दाबी गर्नुपर्ने, उपनिर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्नुपर्ने लगायत प्रस्तावहरू माओवादीभित्र उठेका छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१