विराजको ‘१२ गाउँ’मा न्यान्सी अनुबन्धित

काठमाडौं । अभिनेता विराज भट्टको निर्माण र निर्देशन रहने फिल्म ‘१२ गाउँ’मा अभिनेत्रीका रुपमा ‘मिस नेपाल इन्टरनेसनल २०२२’ विजेता न्यान्सी खड्का अनुबन्धित भएकी छन् । न्यान्सीको यो ‘डेब्यू’ फिल्म हुनेछ ।निर्देशक विराजले न्यान्सीलाई स्क्रिप्ट सुनाएपछि उनी फिल्ममा काम गर्न सहमत भएको बताए । ‘स्क्रिप्टले खोजेकै मात्र न्यान्सीमा पायौं । उहाँलाई प्रस्ताव गरेपछि फिल्ममा काम गर्न सहमत हुनुभयो’, विराजले भने ।

विराटनगर घर भएकी न्यान्सी गायक सुमित खड्काकी छोरी हुन् । उनी व्यावसायिक मोडल पनि हुन् । न्यान्सीले आमसञ्चार विषयमा अमेरिकाबाट स्नातक गरेकी छन् ।मानसिक स्वास्थ्यमा जनचेतना फैलाउने काममा सक्रिय न्यान्सीले केही समय अघि जापानमा भएको ‘मिस इन्टरनेसनल‘मा नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।

विराजले ‘१२ गाउँ’ बाट छोरा समीर भट्टलाई पनि डेब्यू गराउँदैछन् । आगामी चैत १५ गतेबाट छायांकनमा जाने फिल्मको हाल प्रिप्रोडक्सनको काम भइरहेको छ ।सन्तोष सरकारको कथा तथा पटकथा रहने फिल्ममा विराज नै प्रमुख भूमिकामा देखिनेछन् । फिल्म विराजको होम प्रोडक्सन कम्पनी विराज भट्ट फिल्मस् प्रोडक्सनबाट निर्माण हुन लागेको हो ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१