काठमाडौं । इलाम सदरमुकामको ठूलो टुँडिखेलमा जारी प्रथम अन्तर पालिका उपप्रमुख महिला फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ ।
आज हुने पहिलो सेमीफाइनलमा सूर्याेदय नगरपालिका र माईजोगमाई गाउँपालिकाबीच प्रतिस्पर्धा हुँदैछ । अन्तिम क्वार्टरफाइनल खेलमा इलाम नगरपालिकाको टिमले माङसेबुङ गाउँपालिकालाई हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको छ ।
मनिषा थापामगरको एकमात्र निर्णायक गोलसँगै इलाम नगरपालिका सेमिफाइनलमा पुगेको हो । अन्तिम क्वार्टरफाइनल खेलमा वुमन अफ् दि म्याच घोषित हुँदै इलामकी डिफेन्डर सजनी थोकरले नगद तीन हजार पुरस्कार जितिन् ।
प्रतियोगिताको विजेताले नगद दुई लाख र उपविजेताले नगद एक लाख रुपैयाँ पाउनेछन् । माइभ्याली फुटबल क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा इलामका सबै पालिकाहरुको सहभागिता छ । प्रतियोगिताको फाइनल १९ गते हुनेछ ।