शालिन पोखरेल मृत्यु प्रकरणको छानविन गरियोस् : एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनको रत्ननगर नगरपालिका-१० स्थित एकता शिशु निकेतन स्कुलको होस्टेलमा शालिन पोखरेल मृत भेटिएको घटना अनुसन्धान गर्न माग गरेका छन्। शालिनको शव झुण्डिएको अवस्थामा फेला परेको घटनाले आफूलाई बेचैन बनाएको बताएका ओलीले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो संवेदनशील घटनामा राज्यको निकाय प्रहरीले गहिरो अनुसन्धान गर्नुपर्ने बताएका हुन्।

ओलीले यस्ता घटनालाई अनुसन्धान गर्ने निकायभन्दा बाहिरबाट हुने हल्ला र अफवाहले असहयोग पुगिरहेको भन्दै हत्या वा आत्महत्या के हो, गहिरो र विश्वसनीय अनुसन्धान गरेर बाहिर ल्याउन आग्रह गरेका छन्। उनले भनेका छन्, ‘चितवनको शिशु निकेतन स्कूलको छात्रावासमा बालिका शालीन पोखरेलको शव झुण्डिएको अवस्थामा फेला परेको घटनाले बेचैन बनाएको छ। यस्तो संवेदनशील घटनामा राज्यको निकाय प्रहरीले गहिरो अनुसन्धान गरोस्। परिवार र आफन्त अत्यन्त पीडित छन्। यस्ता घटनालाई अनुसन्धान गर्ने निकाय भन्दा बाहिरबाट हुने हल्ला र अफवाहले असहयोग पुगिरहेको हुन्छ। हत्या वा आत्महत्या के हो, गहिरो र विश्वसनीय अनुसन्धान गरेर बाहिर ल्याइयोस् । सबैले अनुसन्धानलाई सहयोग गरौं।’

कक्षा-८ मा अध्यनरत शालिन गत फागुन १२ गते सोही स्कूलद्वारा सञ्चालित होस्टेलमा झुण्डिएको अवस्थामा भेटिएकी थिइन्। गोरखा अजिरकोट गाउँपालिका-५ मुच्चोकका दिपेन्द्र पोखरेलले आफ्नी १४ वर्षीय छोरी शालिनको बलात्कारपछि हत्या भएको दाबी गरेका छन्। परिवारले शालिनको बलात्कार पछि हत्या गरेर झुण्ड्याइएको भन्दै किटानी जाहेरी दिएपछि विद्यालयका प्रिन्सिपल बालहरि देवकोटा, भाइस प्रिन्सिपल किरणबहादुर अधिकारी र होस्टल वार्डेन कमल पौडेल पक्राउ परेका छन्।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१